रक्तदानबाट पदभार

रक्तदानबाट पदभार : प्यूठान अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष कृष्ण प्रसाद बस्सेलको जनसेवा प्रतिको फरक शैली

जनताको सेवामा समर्पित हुने अठोटसहित प्यूठान अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष कृष्ण प्रसाद बस्सेलले पदभार ग्रहण गर्नुअघि अनौठो तर भावनात्मक शैली अपनाउँदै जनताको नाममा रक्तदान गरेका छन्। उनले अस्पतालको अध्यक्ष पदको जिम्मेवारी सम्हाल्नु अघि नै रक्तदान गरेर समाज सेवा र मानवताको उत्कृष्ट सन्देश दिएका हुन्।
बस्सेल सहित ७ जना युवाहरु आजै रक्तदान गर्दै उनकाे जाेस जागरमा थप हाैसला प्रदान गरेका छन।

अस्पताल परिसरमै आयोजित स्वागत तथा पदभार कार्यक्रममा उनले  प्यूठान नगरपालिकाका नगर उपप्रमुख देबेन्द्र बर्मा ,झिमरुक गाउपालिका उपाध्यक्ष प्रमाेद पाेख्रेल,माण्डबि गाउपालिका उपाध्यक्ष पुर्ण प्रसाद कालाथाेकि,अस्पताल बिकास समितिका पुर्व अध्यक्ष सुबास केशिलगाएतका जनप्रतिनिधि ,कर्मचारी ,समाजसेवी ,पत्रकार डाक्टर, नर्स,लगाएतको उपस्थितिमा पदभार ग्रहण गरेका थिए। उनलाई अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट ओम अर्याल जनप्रतिनिधि सहित चिकित्सक टोलीले खादा र फूलमालासहित स्वागत गरेका थिए।

पदभार ग्रहण कार्यक्रममा बोल्दै बस्सेलले प्यूठान अस्पतालको सेवा, संरचना र व्यवस्थापन पक्षमा आमूल सुधार ल्याउने प्रतिबद्धता जनाए। अलपत्र अवस्थामा रहेको अस्पतालको निर्माणाधीन भवन निर्माणमा पहल गर्ने र सरकारी तथा गैरसरकारी स्रोत साधन परिचालन गरी अस्पताललाई आधुनिक सेवा दिने संस्थामा रूपान्तरण गर्ने योजना सार्वजनिक गरे।

“म बच्चैदेखि डाक्टर बन्न चाहन्थें, कक्षा ८ मा जिल्लामा प्रथम भएँ। तर जीवनले मलाई राजनीतिमा ल्यायो। डाक्टर बन्न सकिनँ, तर आज डाक्टरहरूसँगै हातेमालो गर्दै जनताको सेवामा लाग्न पाउँदा गर्व लागेको छ,” बस्सेलले भने।

उनले अस्पतालका सबै पक्षमा पारदर्शिता कायम गर्दै, सेवाग्राहीलाई सम्मानपूर्वक सेवा दिने वातावरण बनाउने प्रतिवद्धता व्यक्त गरे। साथै, अस्पतालमा स्वास्थ्य सामग्री, जनशक्ति र पूर्वाधारको अभाव हटाउन तीन तहका सरकारहरूसँग सहकार्य गर्दै पहल गर्ने जनाएका छन्।

“यो जिम्मेवारी कुनै पदका लागि होइन, जनताको अपेक्षा र विश्वासको उत्तरदायित्व हो। सबै सरोकारवालाको साथ र सुझावका आधारमा अस्पतालको विकासमा कुनै कसर बाँकी राख्ने छैनौं,” अध्यक्ष बस्सेलले थपे।

उनको नेतृत्वमा अस्पताल विकास समितिले नयाँ ऊर्जा प्राप्त गर्ने विश्वास लिइएको छ। उनले जनतासँगको सिधा सम्पर्क, खुला गुनासो सुन्ने व्यवस्था र जनचासोका कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए।

कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्टले नयाँ नेतृत्वसँग सहकार्य गर्दै स्वास्थ्य सेवा गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा सहभागी डाक्टर र कर्मचारीहरूले समेत बस्सेलको नेतृत्वमा अस्पतालले जनविश्वास बढाउने अपेक्षा राखेका छन्।

समाजसेवा, राजनीति र जनस्वास्थ्यप्रति विशेष रुचि राख्ने बस्सेलको नेतृत्वमा प्यूठान अस्पतालले नयाँ इतिहास रच्ने विश्वास आम नागरिकमा देखिएको छ। रक्तदानबाट सुरु गरिएको पदयात्रा अब जनताको स्वास्थ्य समृद्धिमा रूपान्तरित हुने अपेक्षा गरिएको छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।