नाइजरमा सैनिकले सत्ता कब्जा
पश्चिम अफ्रिकी मुलुक नाइजरमा सैनिकहरूले राष्ट्रपतिलाई नियन्त्रणमा लिँदै सत्ता कब्जा गरेका छन् । बीबीसीका अनुसार नाइजरका राष्ट्रपति मोहम्मद बाजुमलाई हिरासतमा लिई त्यहाँका सैनिकहरूले संविधान विघटन भएको घोषणा गरेका हुन् ।
राष्ट्रिय टेलिभिजन मार्फत विद्रोहको घोषणा गरेका उनीहरूले देशको संविधान विघटनका साथै सबै सरकारी निकाय र देशका सबै सीमाना बन्द गरिएको बताएका छन् । टीभीमा विद्रोह घोषणा गर्दा कर्नेल अमादु अब्द्रामाने अन्य नौ सिपाहीसँगै थिए । सो क्रममा उनले भने, ‘हामी, रक्षा र सुरक्षा बलले तपाईंलाई थाहा भएको शासन प्रणाली अन्त्य गर्ने निर्णय गरेका छौँ । यो लगातार खस्किँदै गएको सुरक्षा अवस्था र बिग्रँदै गएको आर्थिक र सामाजिक अवस्थाको परिणाम हो ।’
स्थिति स्थिर नभएसम्म सीमा र हवाई नाका बन्द रहने उनले बताएका छन् । साथै अर्को सूचना नभएसम्म राति १० बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु जारी रहने घोषणा गरिएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले राष्ट्रपति बाजुमलाई अमेरिकाको समर्थन अटल रहने बताएका छन् ।
यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि राष्ट्रपति बाजुमसँग कुरा गरी पूर्ण सहयोग गर्ने बताएका छन् । राष्ट्रपति बाजुम पश्चिम अफ्रिकामा इस्लामिक अतिवाद विरुद्धको लडाईमा पश्चिमी देशहरूको प्रमुख सहयोगी हुन् ।