उपनिर्वाचनका लागि बजेट स्वीकृत

 

 

अर्थ मन्त्रालयले उपनिर्वाचनका लागि निर्वाचन आयोगलाई दस करोड रुपियाँ स्रोत सुनिश्चित गरेको छ । आयोगले गएको फागुनमा उपनिर्वाचनका लागि स्रोत सुनिश्चित गर्न अर्थ मन्त्रालयसँग आग्रह गरेको थियो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले माग गरे अनुसार नै खर्च गर्ने गरी अर्थ मन्त्रालयले बजेट सुनिश्चितताको स्वीकृति दिएको जानकारी दिनुभयो । उहाँले बजेट सुनिश्चित भएपछि निर्वाचनको व्यवस्थापकीय काम छिट्टै अगाडि बढ्ने बताउनुभयो । प्रवक्ता पौडेलले उम्मेदवारी दर्ताअघि नै दुवै जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा खर्चको अख्तियारी पठाइने बताउनुभयो ।

इलाम–२ प्रतिनिधि सभा सदस्य र बझाङ १ (१) मा प्रदेश सभा सदस्यको निर्वाचन वैशाख १५ गते हुँदै छ । निर्वाचनका लागि चैत २४ गते उम्मेदवारी दर्ता हुने छ । आयोगले चैत दोस्रो साता नै उपनिर्वाचनका लागि दुवै क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त गर्ने छ । चैत २२ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने छ । त्यसअघि निर्वाचन अधिकृतको कार्यालय व्यवस्थापनका लागि खर्चको अख्तियारी पठाइने प्रवक्ता पौडेलले बताउनुभयो । इलाम–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङ र बझाङ १ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि दुवै क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

दुवै क्षेत्रमा उपनिर्वाचनका लागि आवश्यक निर्वाचन सामग्री २०७९ मङ्सिर ४ मा सम्पन्न निर्वाचनपछि मौज्दात सामग्रीबाट नै पूर्ति गर्न प्रयासरत रहेको प्रवक्ता पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “सकभर निर्वाचन हुने जिल्लाबाटै मौज्दात सामग्रीको स्थिति बुझ्ने छौँ । त्यतिले नभए छिमेकका जिल्लाबाट वा अन्य विधिबाट आयोगले व्यवस्थापन गर्ने छन् ।”

उपनिर्वाचनमा कुल २० दल सहभागी हुँदै छन् । आयोगका अनुसार प्रतिनिधि सभा सदस्यतर्फ २० दल र प्रदेश सभा सदस्यतर्फ १९ दलले भाग लिने गरी दल दर्ता गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा सदस्य निर्वाचनमा मात्र भाग लिने छ । लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले भाग लिने छैनन् । उपनिर्वाचनमा भाग लिने दललाई निर्वाचन आयोगले चैत ५ गते निर्वाचन चिह्न प्रदान गरिसकेको छ ।

आयोगका अनुसार उपनिर्वाचनमा उम्मेदवारको सङ्ख्या अनुसार नै मतपत्रमा निर्वाचन चिह्न राखिने छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतपत्र छापिने छ । निर्वाचन कार्यक्रमबमोजिम उम्मेदवारको अन्तिम नामावली चैत २७ गते प्रकाशित हुने छ । सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न दिइने छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।