स्थानीय तहको सञ्चित कोष रकमलाई बैंकहरूले निक्षेपमा गणना गर्न नपाउने

 

 

बैंकहरुले स्थानीय तहको सञ्चित कोषको रकमलाई निक्षेपमा गणना गर्न नपाउने भएका छन् ।

१६ चैतको अर्थमन्त्रीस्तरीय निर्णय कार्यान्वयनका लागि भन्दै १९ चैतमा अर्थ मन्त्रालयले उक्त निर्णय कार्यान्वयनका लागि नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको हो ।

स्थानीय तहको सञ्चित कोषमा मौज्दात रहेको रकमको ६० प्रतिशत वाणिज्य बैंकहरुले निक्षेपको रुपमा गणना गर्दै आएका थिए ।

१६ चैतको मन्त्रीस्तरीय निर्णयबाट स्थानीय तहको सञ्चित कोषमा रहेको मौज्दातलाई वाणिज्य बैंकको निक्षेपमा गणना गर्ने व्यवस्था हटाउने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

राष्ट्र बैंकको माघ मसान्तको तथ्यांक अनुसार स्थानीय तहको सञ्चित कोषमा रहेको ४० प्रतिशतले हुने ६६ अर्ब भन्दा धेरै राष्ट्र बैंकमा रहेको सञ्चित कोषमा रहेको छ भने ६० प्रतिशतले हुने करिब १ खर्ब बैंकहरूले निक्षेपको रुपमा गणना गर्दै आएका थिए ।

बैंकिङ प्राणलीमा अधिक तरलता पाएपछि राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा मार्फत ३ प्रतिशत ब्याजदरमा बैंकिङ प्रणालीबाट निरन्तर तरलता खिचिरहेको थियो ।

सरकारी कोषको पैसा बैंकहरूले विनाब्याज निक्षेपमा गणना गर्ने र राष्ट्र बैंकले ब्याज तिरेर तरलता खिच्नुपर्ने अवस्था रहेको भन्दै राष्ट्र बैंकमा तरलता खिच्ने कि नखिच्ने  विषयमा पनि दुई मत देखिँदै आएको थियो ।

१८ चैतसम्मको राष्ट्र बैंकको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६२ खर्ब २ अर्ब पुगेको छ । कुल कर्जा लगानी  ५० खर्ब ८७ अर्ब रहेको छ । यस्तै कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७९.६४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

स्थानीय तहको सञ्चित कोषमा रहेको ६० प्रतिशत निक्षेप गणना गर्न नपाउँदा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप १ खर्बले घटेर करिब ६१ खर्बको हाराहारी हुने देखिन्छ । सीडी रेसियो  केही बढेर करिब ८१ प्रतिशत पुग्न जान्छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन अनुसार कर्जा निक्षेप अनुपात अधिकतम ९० प्रतिशत हुने गरी कर्जा लगानी गर्न पाइने व्यवस्था छ । ७९.६४ प्रतिशत सीडी रेसियो रहेको अवस्थामा ९० प्रतिशतसम्म पुग्दा स्थानीय तहको सञ्चित कोषमा रहेको ६० प्रतिशत निक्षेपको रुपम गणना गर्दा बैंकिङ प्रणालीमा कर्जा लगानीयोग्य स्रोत ६ खर्ब ४० अर्ब  भन्दा बढी रहेको छ ।

स्थानीय तहको सञ्चित कोषमा रहेको रकमलाई निक्षेपमा गणना गर्दा बैंकहरूसँग लगानीयोग्य कर्जाका लागि उपलब्ध स्रोत पनि घटेर करिब साढे ५ खर्बमा सीमित हुनसक्छ ।

अहिले बैंकिङ प्रणालीमा अधिक तरलता भएकोले बैंकहरूलाई तरलता व्यवस्थापन गर्न खासै समस्या हुँदैन । यस्तै राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट खिच्नुपर्ने तरलतामा भने केही कमी हुनेछ । ४ वटा बैंकलाई भने यसले केही दबाब पर्न सक्ने एक बैंकरले बताए ।

गत महिना फैलाइएको भ्रमले गर्दा ठूलो निक्षेप बाहिरिएको एनआईसी एसिया बैंकमा र्नै स्थानीय तहको सञ्चित कोषको ठूलो रकम निक्षेपको रुपमा रहेको थियो  । यस्तै अन्य तीन वटा सरकारी बैंक समेत गरी ४ वटा बैंकमा मात्रै ५० प्रतिशत भन्दा धेरै रकम स्थानीय तहको सञ्चित कोषको रहेको थियो ।

१८ चैतको तथ्यांक अनुसार राष्ट्र बैंकले  बैंकिङ प्रणालीबाट निक्षेप संकलन उपकरण मार्फत १ खर्ब  र  स्थायी निक्षेप सुविधा मार्फत ६५ अर्ब ७० करोड गरी १ खर्ब ६५ अर्ब ७० करोड तरलता खिचेको छ ।

चालु आर्थिक वर्ष लागेपछि राष्ट्र बैंकले स्थायी निक्षेप सुविधामार्फत ८ खर्ब २५ अर्ब १० करोड तरलता प्रशोचन गरिसकेको छ । २ फागुनदेखि राष्ट्र बैंकले उक्त सुविधा सुरु गरेको थियो । यस्तै निक्षेप संकलन उपकरण मार्फत ६ खर्ब ९३ अर्ब ५ करोड तरलता प्रशोचन गरेको हो ।

अनलाइन खबरबाट साभार

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।