बिहानैको हावाहुरीले बाल कल्याण प्रा.वि को छानो उडायो
स्मृती घर्ती मगर प्युठान, आज बिहानै आएको हावाहुरीले स्वर्गद्वारीको एक बिद्यालयमा पुर्ण क्षति पुर्याएको छ। बिहानै आएको पानीसहितको हावाहुरीले स्वर्गद्वारी नगरपालिका वार्ड नं-९ सिम्लेमा रहेको श्री बाल कल्याण प्राथमिक बिद्यालय भवनको छानो (टिन) उडाएको छ।
हावाहुरीले बिद्यालय भवनको छानो उडाएपछि अनुमानित दुई लाख बराबरको क्षती भएको बिद्यालयका प्रधानाध्यापक लोक बहदुर घर्ती मगरले जानकारी दिनुभयो। नयाँ शैक्षिक सत्र सुरु हुने समयमै बिद्यालय भवनमा हावाहुरीले यति ठूलो क्षती पुर्याएको भन्दै समयमै मर्मत हुन नसके बिद्यार्थीको पढाइमा असर पुग्न सक्ने प्र.अ घर्ती मगर ले बताउनुभयो। उहाँले भन्नुभयो, “अब यही बैशाख २ गतेबाट नयाँ शैक्षिक सत्रको भर्ना सुरु भइ बैशाख १०/१२ बाट पढाइ सुरु हुन्छ। क्षति मात्रा धेरै भएकोले समुदाय वा विद्यालयले मर्मत गर्न सक्ने अबस्था छैन। वडा पालिका लगाएत सरोकारवाला निकायबाट समयमै सहयोग नभए बालबालिकाको पढाइमा धेरै असर पर्छ।”
क्षतिको विवरण पालिका र वार्डमा पनि जानकारी गराइसकेको र वार्ड अध्यक्ष सहित लामाचौरबाट प्रहरीहरु अनुगमन र प्रहरी मुचुल्का उठाउन आउन लागेको बताइएको छ।