बालबालिकालाई कानुन सिकाउदै झिमरुकको न्यायिक समिति
बालबालिकालाई कानुन सिकाउदै झिमरुकको न्यायिक समिति
जेठ ८ प्यूठान
प्युठान। प्युठानको झिमरुक गाउँपालिकाको न्यायिक समितिले विद्यालय तहमै कानुनी शिक्षा पुर्याउने अभियान थालेको छ। गाउँपालिका वडा नम्बर ५ स्थित बालशिक्षा माध्यमिक विद्यालय मच्छीबाट कानुनी साक्षरता कार्यक्रमको सुरुवात गरिएको हो । कार्यक्रमबाट विद्यार्थीहरूले स्थानीय सरकार, कानुनी अधिकार र बालविवाहबारे प्रत्यक्ष जानकारी पाएका छन् ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक प्रमोद पोखरेलले न्यायिक समितिको भूमिका, सेवा पद्धति र विद्यालय–समुदायसँगको सम्बन्धबारे जानकारी गराए। प्रशिक्षक तथा पत्रकार जीवन भण्डारीले स्थानीय सरकार र नागरिक अधिकारबारे प्रशिक्षण दिए भने अर्का प्रशिक्षक विजय पोखरेलले बालविवाहसम्बन्धी कानुनी व्यवस्था र सामाजिक प्रभावबारे सचेतना जगाए।
कक्षा ८ देखि ११ सम्मका १२० जना विद्यार्थी सहभागी उक्त कार्यक्रममा कानुनी साक्षरतामार्फत बालबालिकालाई सामाजिक कुप्रथाविरुद्ध सचेत बनाउने उद्देश्य लिइएको थियो। झिमरुक गाउँपालिका बालविवाह बढी हुने क्षेत्रमध्ये एक भएकाले विद्यालय–केन्द्रित सचेतना अभियानलाई प्राथमिकतामा राखिएको उपाध्यक्ष पोखरेलले बताए। उनका अनुसार झन्डै डेढ दर्जन विद्यालय र क्याम्पसमा कानुनी साक्षरता कार्यक्रम सञ्चालन गरिने योजना छ।
कार्यक्रमले विद्यार्थीहरूमा उत्साह र चासो दुबै बढाएको थियो। कक्षा १० की छात्रा सोनिया जिसी भन्छिन्, “हामीले कानुनबारे पहिले खासै थाहा पाएका थिएनौँ। अब थाहा भयो, कानुन आफैँलाई सुरक्षित राख्ने एउटा शक्तिशाली हतियार रहेछ।”
कार्यक्रममा सहभागी विद्यालयका शिक्षकहरूले समेत कार्यक्रम सबैका लागि उपयोगी र ज्ञानवर्धक भएको बताएका छन।विद्यालयका प्रधानाध्यापक रिसीराम पाेख्रेल भन्छन्, “विद्यार्थीहरूलाई व्यवहारिक रूपमा सिकाउने यस्तो कार्यक्रम विद्यालयको पठनपाठनभन्दा पनि बढी प्रभावकारी देखियो।” शिक्षक बालाराम पाेख्रेलको भनाइ छ, “बच्चाहरूले कानुनी कुरालाई जिज्ञासाका साथ सुने। उनीहरूमा सोचको स्तर फेरिएको अनुभव गरियो।”झिमरुक गाउँपालिकाको न्यायिक समिति मार्फत सुरु भएको विद्यालय–केन्द्रित कानुनी साक्षरता अभियानले बालविवाहजस्ता समस्यालाई न्यूनीकरण गर्न योगदान गर्ने र गाउँपालिकाका कामहरूलाई प्रभावकारी र जनसहभागितामुलक बनाउन सहयोग पुग्ने उपाध्यक्ष पोखरेलले विश्वास व्यक्त गर्नुभयो।