बालविवाह न्यूनीकरणमा झिमरुक गाउँपालिकाको सक्रियता
प्यूठान, जेठ १४
प्यूठानको झिमरुक गाउँपालिकाले बालविवाह न्यूनीकरण तथा कानुनी सचेतनाका लागि स्थानीय विद्यालय र क्याम्पसस्तरमा व्यापक अभियान सञ्चालन गरेको छ। गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक प्रमोद पोखरेलको अगुवाइमा सुरु गरिएको यो अभियानले बालबालिकाहरूमा बालअधिकार, कानुनी प्रक्रिया, मेलमिलाप प्रणाली र स्थानीय सरकारको भूमिकाबारे गहिरो ज्ञान दिएको छ।
सचेतना कार्यक्रमको क्रममा जिल्ला सरकारी वकिल कार्यालय, प्यूठानका न्यायाधिवक्ता नरेन्द्र देवकोटाले स्थानीय सरकार र न्यायिक समितिको अधिकारक्षेत्र, मुद्दा फर्छाैटको प्रक्रिया, मेलमिलापकर्ताको जिम्मेवारी लगायतका कानुनी विषयमा सहभागीहरूलाई प्रशिक्षण दिएका थिए।
उपाध्यक्ष पोखरेलले बालविवाह सामाजिक अपराध हो र यसको न्यूनीकरणका लागि शिक्षा, सचेतना र कानुनी कार्यान्वयन सबै पक्षबाट सशक्त पहल आवश्यक छ। उनले भने, “बालविवाह गर्ने र गराउने दुवैलाई कानुनी कारबाही हुन्छ। झिमरुक गाउँपालिकालाई बालविवाह मुक्त क्षेत्र बनाउन हामी प्रतिबद्ध छौँ।”भन्ने बिषयमा उपस्थित बिद्यार्थी शिक्षकहरुलाई प्रशिक्षण दिएका थिए।
गाउँपालिकाले अभियानअन्तर्गत जेठ ७ गते मच्छीस्थित बालशिक्षा माविबाट कार्यक्रमको सुरुआत गरेको थियो। त्यसपछि क्रमशः गौमुखी क्याम्पस मच्छी, सर्वोदय मावि गडेरपानी, सत्यमावि तुसार, सीता मावि कुता लगायतका शैक्षिक संस्थामा सचेतना कार्यक्रम सञ्चालन गरिएकाे छ। कार्यक्रमलाई थप प्रभावकारी बनाउन पालिकाले सहभागी विद्यार्थीलाई खाजास्वरूप प्रतिव्यक्ति रु १५० नगद पनि प्रदान गरेको छ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले स्थानीय सरकारको संरचना, कार्यक्षेत्र, बालविवाहसम्बन्धी कानुन, मेलमिलापकर्ताको भुमिका, सजायका प्रावधानबारे जानकारी पाए। उनीहरूले यस्ता कार्यक्रम निरन्तर गर्नुपर्ने माग राखेका छन्।
हालसम्म झिमरुकका ६ वटा शैक्षिक संस्थामा अध्ययनरत ६४० जना विद्यार्थी र शिक्षकले कार्यक्रममा सहभागिता जनाइसकेका छन्। बाँकी रहेका ७ विद्यालयबाट थप ७०० जनाको सहभागिता सुनिश्चित गर्न पहल भइरहेको गाउँपालिका न्यायिक समिति हेर्ने सहायक प्रशासकीय अधिकृत यामलाल पोखरेलले जानकारी दिए।
सचेतना अभियानले कानुनी साक्षरतासँगै सामाजिक सचेतनाको विकासमा योगदान पुर्याएको स्थानीय शिक्षकहरूको भनाइ छ। मेलमिलाप प्रणाली, बालअधिकार संरक्षण र न्यायिक पहुँचको व्यवहारिक अभ्यासको रूपमा प्रस्तुत भएको यो अभियान झिमरुकका लागि उदाहरणीय बन्न पुगेको छ।
प्रशिक्षणमा सहभागी भएकि एक बिद्यार्थीले भनिन, “मलाई बालविवाह संबधि ज्ञान थिएन धेरै सिके अब म पनि गाउघरमा गएर आफुले सिकेकाे बताउने छु र ब्यवहारमा लागू गर्नेछु।
गाउँपालिकाको यो पहलले विद्यालय स्तरमै विद्यार्थीहरूलाई कानून र नागरिक कर्तव्यबारे परिचित गराउँदै उनीहरूमा जिम्मेवार नागरिक बनाउने मार्ग प्रशस्त गरिरहेको छ। बालमैत्री समाज निर्माण र बालअधिकार प्रवर्द्धनतर्फ झिमरुक गाउँपालिकाको यो कदम अनुकरणीय रहेको शिक्षकहरु बताउछन।