चोयाचित्र उद्योगले पुनः सञ्चालन गर्‍यो डोको, मान्द्रो र सुपा बुन्ने तालिम

प्यूठान, (झिमरुक )
“सीप सिखौं, स्वरोजगार, आत्मनिर्भर अनि उद्यमशील बनौं” भन्ने मूल नारासहित स्थापना भएको ओखरकोट चोयाचित्र उद्योगले यस वर्ष पनि अघिल्ला वर्षहरूको सफलतापछि डोको, मान्द्रो र सुपा बुन्ने तालिम पुनः सञ्चालनमा ल्याएको छ। प्यूठानको झिमरुक गाउँपालिका–५ ओखरकोटमा रहेको यस उद्योगले २०८० सालदेखि तालिम सञ्चालन गर्दै आएको हो।
एक महिनासम्म चल्ने तालिमको उद्घाटन झिमरुक गाउपालिका पाचका वडा अध्यक्ष दधिराम पाेख्रेलले एक कार्यक्रमका बिच गरेका छन ।
पाेख्रेलले स्थानीय उद्योग ,व्यापार ,ब्यबसाय प्रबर्द्धन गर्न स्थानीय सरकारले निरन्तर सहयाेग गर्ने र उत्पादित सामाग्री बजारीकरणमा सहयाेग गर्ने बताए।

यस वर्षको तालिममा ३० जना बेरोजगार, महिला तथा युवाहरू सहभागी छन्। उद्योगका अध्यक्ष दलबहादुर जिसीका अनुसार हालसम्म झण्डै २०० जना भन्दा बढीले यस उद्योगमार्फत चोयाचित्र सम्बन्धी सीप सिकिसकेका छन्।

स्वरोजगारतर्फको सशक्त पाइला

तालिमले विशेषगरी गाउँमै रोजगारीको सिर्जना गर्न, घरायसी महिलालाई आत्मनिर्भर बनाउने र स्थानीय स्रोत साधनको उपयोगमार्फत परम्परागत सीपलाई आधुनिक स्वरूपमा रूपान्तरण गर्न उल्लेखनीय भूमिका खेलेको छ।

स्थानीय सहभागी शर्मिला थापा बताउँछिन्, “पहिला घरको काममै व्यस्त थिएँ। खाली समय नष्ट हुन्थ्यो। अहिले भने तालिम लिएर चोया बुन्ने सीप सिकेकी छु। फुर्सदको समय सदुपयोग गरेर मासिक पाँच हजार रुपैयाँसम्म आम्दानी गर्न थालेकी छु। अहिले मेरो श्रीमान्‌को मात्र नभई मेरो पनि आम्दानी घरखर्च चलाउन सहयोगी भएको छ।”

उनकै टोलकी आशा जिसी, सारदा जिसी र हुकुमबहादुर जिसी पनि तालिम लिएपछि मासिक रूपमा आम्दानी गर्न थालेका छन्। उनीहरूले उत्पादित डोको, मान्द्रो, सुपा, टोकरी, फलफूल राख्ने भाँडा, धान सुकाउने थाली, आलु र तरकारी बोक्ने ब्यागजस्ता सामग्री बजारमा बिक्री गर्दै आएका छन्।

 प्रदेश र स्थानीय सरकारको हातेमालो

ओखरकोट चोयाचित्र उद्योगको स्थायीत्व र विस्तारमा प्रदेश सरकार र स्थानीय तहको सक्रियता पनि देखिएको छ। लुम्बिनी प्रदेश सरकारले उद्योग प्रवर्द्धनका लागि रु. १० लाख आर्थिक सहयोग प्रदान गरेको छ भने झिमरुक गाउँपालिकाले समेत प्राविधिक सहयोग र उपकरण व्यवस्थापनमा हातेमालो गरेको छ।

उद्योगका अध्यक्ष जिसीका अनुसार, “हामीले यही गाउँको महिलालाई आत्मनिर्भर बनाउने र युवा वर्गलाई विदेश जानु भन्दा आफ्नो गाउँमै रोजगारी सिर्जना गर्ने उद्देश्यले तालिम सञ्चालन गरिरहेका छौं। यो हाम्रो स्थानीय पहिचानको जगेर्ना पनि हो।”

चोयाचित्रको सम्भावना र बजार

प्यूठान जस्तो पहाडी जिल्लामा चोया (अल्लोको जस्तो वनस्पति) प्रशस्त मात्रामा पाइन्छ। त्यसको उपयोग गरेर उत्पादित सामग्रीहरू नेपाली समाजमा दैनन्दिन प्रयोगमा आउने भएकाले यसको बजार सम्भावना निकै राम्रो रहेको उद्योग सञ्चालकहरूको भनाइ छ।

चोयाबाट तयार गरिएका डोको, मान्द्रो, सुपा, टोकरा, टोकरीजस्ता सामग्रीहरू प्यूठान मात्र नभई रोल्पा, सल्यान, बागलुङ, गुल्मी, रुपन्देहीसम्म पनि पठाइएको अध्यक्ष जिसीले बताए। पछिल्लो समयमा पर्यटकले मन पराउने हस्तकला सामग्री बनाउन र त्यसलाई ब्रान्डिङ गरेर बिक्री गर्ने योजना पनि रहेको उनले उल्लेख गरे।

 उद्यमशीलताको केन्द्र बनाउने लक्ष्य

उद्योगको आगामी योजना महिला उद्यमशीलतालाई सशक्त बनाउँदै प्रशिक्षण लिएका महिलाहरूलाई सामग्री उत्पादन मात्र नभई ब्रान्डिङ, बजार व्यवस्थापन, डिजिटलीकरण र अनलाइन बिक्रीसम्म लैजाने रहेको छ। तालिममा सहभागीहरूको उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने गरी डिजिटल प्लेटफर्मको विकास गरिने बताइएको छ।

“अब हामीले बजार विस्तारमा ध्यान दिनेछौं। ग्रामीण महिलाले बनाएका सामग्रीहरू काठमाडौं, पोखरा, बुटवलजस्ता सहरमा पुर्‍याएर राम्रो मूल्यमा बिक्री गर्न सक्छौं,” जिसीले भने।

स्थानीय स्रोत साधनको उपयोग, महिलाको क्षमता अभिवृद्धि, प्रदेश र स्थानीय सरकारको सहकार्य र परम्परागत सीपको प्रवर्द्धनमार्फत ओखरकोट चोयाचित्र उद्योगले प्यूठानमा आत्मनिर्भरता र स्वरोजगारको एक सकारात्मक मोडल निर्माण गरिरहेको छ।

जसरी यस उद्योगले गाउँका महिलालाई सीप सिकाएर घरमै बसेर कमाउने बाटो देखाएको छ, त्यसले सम्पूर्ण ग्रामीण क्षेत्रमा सीप शिक्षाको महत्त्व र स्थानीय उद्यमको सम्भावनालाई पुष्टि गरेको छ। यस्ता कार्यक्रमहरूलाई दीर्घकालीन रूप दिन सकेमा गाउँलेलाई गाउँमै रोजगारी, आत्मसम्मान र आर्थिक सबलीकरण हासिल हुने निश्चित छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।