स्वर्गद्वारी ५ मा ८५० थान इन्डक्सन चुलो वितरण आबेदन खुला
स्वर्गद्वारी, प्युठान ।
स्वर्गद्वारी नगरपालिका वडा नं ५ ले विद्युतीय (इन्डक्सन) चुलो वितरण कार्यक्रम सार्वजनिक गरेको छ। ऊर्जा प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा सञ्चालित यस योजनाअन्तर्गत ८५० वटा इन्डक्सन चुलो वितरण गरिनेछ। इच्छुक उपभोक्ताले वडा कार्यालयमा गई आवेदन फारम बुझाउन सक्नेछन्।

वडाका अध्यक्ष गिर बहादुर घर्तीका अनुसार जनताको दैनिकी सहज बनाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो। उनका अनुसार, “स्थानीय सरकारले जनमुखि योजनामार्फत वडाबासीको जीवनस्तर उकास्न प्रतिबद्ध छ। इन्डक्सन चुलो वितरण कार्यक्रम त्यसैको एक भाग हो।”

कार्यक्रममा सहभागी हुन चाहने उपभोक्ताले कुल मूल्यको ३०% लागत साझेदारी गर्नुपर्नेछ भने बाँकी खर्च वडा कार्यालय र ऊर्जा प्रवर्द्धन केन्द्रबाट व्यहोर्ने जानकारी पनि दिइएको छ।
इन्डक्सन चुलोका फाइदाहरू
इन्डक्सन चुलोले खाना छिटो पकाउने, विद्युत् उपयोगमा उच्च दक्षता हुने, दाउरा तथा ग्यासको खर्च बचत गर्ने, र घरभित्र धुवाँरहित वातावरण सिर्जना गर्ने विशेषता बोकेको छ।
यसले निम्न लाभहरू पनि दिन्छः
- आगलागीको जोखिम न्यून
- प्रयोगमा सुरक्षित र सफा
- तापक्रम सजिलै नियन्त्रण गर्न सकिने
- वातावरणमैत्री र आर्थिक रूपले लाभदायक
वातावरण संरक्षणतर्फ योगदान
दाउराको सट्टा बिजुली प्रयोगमा ल्याउँदा वनजंगलको कटानी घट्ने, कार्बन उत्सर्जनमा कमी आउने र स्वच्छ ऊर्जा उपयोगको प्रवर्द्धन हुने वडाको विश्वास छ।
वडाध्यक्ष घर्ती भन्छन्, “हामी गाउँमै स्मार्ट प्रविधिको पहुँच बढाउने प्रयासमा छौं। यस्तो कार्यक्रमले वातावरण, स्वास्थ्य र खर्च—तीनै पक्षमा सकारात्मक प्रभाव पार्नेछ।”
आवेदन कहाँ र कसरी दिने?

चुलो पाउन इच्छुक वडाबासीले वडा कार्यालयमा सिधा सम्पर्क गरेर फारम भर्नुपर्नेछ। फारम उपलब्ध भइसकेको जानकारी दिँदै वडाले समयमै आवेदन दिन सबैमा अनुरोध गरेको छ।
