सिंचाइ सुविधाले बढायो उत्पादन, उत्साहित बने कृषक

प्यूठान ।प्यूठान जिल्लामा सिंचाइको सुविधा विस्तारसँगै चैते धान खेती गर्ने कृषकहरूको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ।

प्यूठान नगरपालिका, ऐरावती गाउँपालिका, माण्डवी गाउँपालिका, मल्लरानी गाउँपालिका तथा स्वर्गद्वारी नगरपालिकाका विभिन्न क्षेत्रमा पछिल्ला वर्षहरूमा चैते धान खेतीको क्षेत्र निरन्तर विस्तार हुँदै आएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सञ्चालित ‘धान जोन प्यूठान’ले यस खेतीको प्रवर्द्धनमा सक्रिय भूमिका खेलेको छ।

 

“चार वर्षदेखि निरन्तर चैते धान खेती गर्दै आएको छु,” प्यूठान नगरपालिका–२, दाखाक्वाडीका कृषक मुक्ति पोखरेल भन्छन्, “अहिलेसम्म राम्रो उत्पादन भइरहेको छ।” उनका अनुसार परियोजनाले सिंचाइ कुलो निर्माण र कृषि यन्त्र उपलब्ध गराएकाले खेती गर्न सजिलो भएको छ।

 

जिल्लामा हाल ६ हजार ५७५ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ। तीमध्ये २ हजार ७९९ हेक्टरमा चैते धान खेती गरिन्छ। धान जोन प्यूठानका प्रमुख चुमानसिंह गिरीका अनुसार बर्षे धानको तुलनामा चैते धानको उत्पादन राम्रो हुने भएकाले यसको विस्तारमा जोड दिइएको छ।

यसैबीच, जलस्रोत तथा सिंचाइ डिभिजन विकास कार्यालय प्यूठानले पनि कृषकलाई लक्षित गर्दै खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पु¥याउने काम गरिरहेको छ। सिँचाइ कुलो, पोखरी निर्माण, तथा फाँट संरक्षणका लागि नदी नियन्त्रण (तटबन्धन) जस्ता कार्यक्रम सञ्चालनमा छन्।

झिमरुक गाउपालिका–३ का कृषक डण्डबहादुर खत्रि भन्छन्, “सिँचाइ सुविधाले फाँट संरक्षण मात्रै होइन, खेतीमा पनि नयाँ उत्साह थपिएको छ।”

सिँचाइको पहुँच पुगेसँगै पहाडी भिरालो र समथर जमिनहरूमा हिउँदमा समेत तरकारी खेती फस्टाएको छ। अहिले ती क्षेत्र हरियाली देखिन्छन् र कृषकको आय आर्जनमा उल्लेखनीय वृद्धि भएको देखिन्छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।