झिमरुक गाउँपालिकाको तेस्रो तथा अन्तिम सार्वजनिक सुनुवाइ सम्पन्न

जवाफदेहितासहित विविध सरोकार उठाइए
असार २४, प्यूठान

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। सुशासन, पारदर्शिता र जवाफदेहिताको प्रवर्द्धन गर्न गाउँपालिकाले यो आर्थिक वर्षमा तीनवटै चौमासिकमा नियमित रूपमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको हो।

गाउँपालिकाको आयोजनामा तथा संघर्ष मिडिया प्रा.लि.को सहजीकरणमा सम्पन्न कार्यक्रममा सार्वजनिक सुनुवाइको महत्व र सहभागीले पालना गर्नुपर्ने आचारसंहिताबारे नेपाल पत्रकार महासंघ, प्यूठान शाखाका सचिव वासुदेव गिरीले जानकारी गराउनुभयो। उहाँले सार्वजनिक सुनुवाइलाई स्थानीय तहमा पारदर्शिता र जवाफदेहिताको महत्वपूर्ण औजारको रूपमा लिनुपर्ने उल्लेख गर्दै कार्यक्रमलाई अझ व्यवस्थित र प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो।

कार्यक्रममा प्रमुख प्रशासनिक अधिकृत विकास के.सी.ले आर्थिक वर्षभर सञ्चालन गरिएका कार्यक्रम तथा विकास योजनाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो। कार्यक्रममा सहभागीहरूद्वारा योजना अनुगमन, न्यायिक समिति, सहकारी क्षेत्र लगायतका विषयमा उठाइएका प्रश्नहरूको जवाफ गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले दिनुभयो।

उपाध्यक्ष पोख्रेलले स्थानीय, प्रदेश र संघीय सरकारबाट सञ्चालन भएका योजना तथा कार्यक्रमहरूको समेत सार्वजनिक सुनुवाइ आवश्यक रहेको उल्लेख गर्नुभयो।

त्यस्तै, योजना निर्माणको क्रममा देखिएका भौतिक क्षतिको तत्काल समाधान गरिने प्रतिबद्धता गाउँपालिका अध्यक्ष पितबहादुर एम.सी.ले व्यक्त गर्नुभयो।

कार्यक्रमले योजनाको कार्यान्वयन, पारदर्शिता, जवाफदेहिता र प्रत्यक्ष जनसरोकारका विषयमा नागरिक सहभागिता सुनिश्चित गर्दै गम्भीर छलफल र उत्तरदायित्वको सन्देश दिएको सहभागीहरूको धारणा थियो।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।