माण्डवी गाउँपालिकामा विद्यालय समायोजन र शिक्षक दरबन्दी मिलान अघि बढ्ने

प्यूठान, असार ३१
माण्डवी गाउँपालिकाको १८ औं गाउँसभा अधिवेशनबाट शिक्षा क्षेत्रलाई सुदृढ र व्यवस्थित बनाउने उद्देश्यले विद्यालय समायोजन  र शिक्षक दरबन्दी मिलान प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ।

गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीले अधिवेशनको प्रारम्भिक बैठकमा आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षालाई उच्च प्राथमिकतामा राखिएको उल्लेख गर्नुभएको थियो। सोही अनुसार, गाउशिक्षा २०८० को मार्गदर्शनमा शिक्षक संख्याको पुनरावलोकन गर्दै विद्यार्थी–शिक्षक अनुपात मिलाउने निर्णय पारित भएको छ।

गाउँपालिका उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकीद्वारा प्रस्तुत ४२ करोड ७६ लाख १५ हजार ९ सय रुपैयाँ बराबरको बजेटमा शिक्षाको गुणस्तर सुधारका लागि विद्यालय मर्ज गर्ने, दरबन्दी पुनः मिलान गर्ने, र स्रोत साधन केन्द्रित ढंगले विद्यालय सुदृढ बनाउने योजना समावेश गरिएको छ।

गाउँसभा बैठकमा सो विषयमा आवश्यक छलफल तथा संशोधनपछि बजेटसहित नीति, कार्यक्रम, स्थानीय कर तथा शुल्क संकलन व्यवस्था, र विनियोजन ऐन पनि सर्वसम्मत पारित गरिएको हो।

यससँगै गाउँपालिकाले शिक्षक व्यवस्थापनलाई चुस्त पार्दै न्यून विद्यार्थी भएका विद्यालयहरू गाभ्ने र आवश्यक शिक्षक पूर्तिका लागि दरबन्दी पुनः संरचना गर्ने कार्यलाई प्राथमिकतामा राख्ने स्पष्ट संकेत दिएको छ।

शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि र सेवा प्रवाहमा सन्तुलित लगानी गर्दै शिक्षालाई परिवर्तनको आधार बनाउने उद्देश्यसहित यो निर्णय गरिएको गाउँसभा सदस्यहरूको भनाइ छ।

गाउँसभाको समापनसँगै नीति तथा कार्यक्रम कार्यान्वयनका तयारीहरूलाई गाउँपालिकाले तीव्रता दिएको छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।