प्युठानमा सुटिङ हुने चलचित्र ‘जदौ’ जातीय विभेदविरुद्धको बुलन्द आवाज

प्युठान / काठमाडौं — जातीय भेदभावविरुद्धको सशक्त आवाज बोकेको नयाँ नेपाली चलचित्र ‘जदौ’ को राजधानीमा निर्माण घोषणा गरिएको छ। जात, धर्म, समुदायको नाममा आज पनि भइरहेका विभेद र पीडालाई कथा बनाइएको यस चलचित्रको प्रमुख सुटिङ लोकेसन प्युठानदाङ रहेका छन्।

कार्यक्रममा कलाकार मुकुन भुसाल, नीति शाह, प्रभातपाल ठकुरी, विनोद न्यौपाने र सन्ध्या श्रेष्ठले चलचित्रको स्थायी गीत वाचन गर्दा माहोल भावुक बनेको थियो। “नखाको बिषले सतायो, नचल्ने खोटी बनायो…” जस्ता ती पंक्तिहरू जातीय विभेदले प्रेम र जीवनलाई कसरी चूनौती दिन्छ भन्ने वास्तविकता प्रस्तुत गर्छन्।

चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसीले महाकवि देवकोटाको चर्चित कविता उद्धृत गर्दै ‘जदौ’ को टाइटल अनावरण गरे।

सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिजको संयुक्त निर्माणमा बन्ने ‘जदौ’ काजी लिम्बू र अञ्जन शर्माको निर्देशनमा भदौ पहिलो साताबाट छायांकन सुरु हुनेछ। निर्देशक लिम्बू आफैं जातीय विभेदका पीडित हुन्, जसले आफैंले भोगेका घटनालाई पर्दामा उतार्ने दाबी गरेका छन्।

कार्यक्रममा निर्मात्री बिमला भण्डारीले फिल्म समाजमा अझै पनि गहिरो रूपमा मौलाएको जातीय अन्यायको विरुद्धमा आवाज उठाउने प्रयास भएको बताइन्।

चलचित्रमा प्युठान र दाङका प्राकृतिक सौन्दर्य र सामाजिक यथार्थलाई जोड्दै छायांकन गरिने बताइएको छ। प्युठान जस्तो विविधता बोकेको भूगोलमा सुटिङ हुनु आफैंमा एक सन्देश हो– जहाँ जात होइन, मानवीयता ठूलो हो।

फिल्ममा मुकुन, नीति, प्रभातपाल, सन्ध्या लगायत चर्चित कलाकारसहित ऋचा शर्मा, धतुरे (सिपी पुडासैनी), अनिल सुब्बा लगायतको अभिनय रहनेछ।

प्युठानबासीका लागि ‘जदौ’ चलचित्र सामाजिक चेतना र पहिचानको गर्विलो उदाहरण बन्ने अपेक्षा गरिएको छ। जातीय विभेदविरुद्धको यो फिल्म प्युठानको माटोमै बन्ने एउटा बुलन्द सन्देश हो।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।