जनगुनासो नआउने गरी सेवा दिन मन्त्री राणाको निर्देशन
प्यूठान — लुम्बिनी प्रदेशका खानेपानी तथा शहरी विकास मन्त्री रोज राणाले जनगुनासो नआउने गरी प्रभावकारी सेवा प्रवाह गर्न मातहत निकायलाई निर्देशन दिएका छन्।
शहरी विकास तथा खानेपानी मन्त्रालयद्वारा आयोजित विकास समस्या समाधान समिति बैठक र वार्षिक प्रगतिसमीक्षा गोष्ठिमा मन्त्री राणाले कार्यसम्पादनमा देखिएका कमजोरी सच्याउँदै जनमुखी ढंगले काम गर्न निर्देशन दिए।
उनले मन्त्रालयको साख जनतामाझ उच्च बनाउन सबै तहका अधिकारीको सक्रियता अपरिहार्य रहेको बताए। ‘एक घर, एक धारा–शुद्ध पानी’ अभियानलाई प्राथमिकतामा राख्दै दीर्घकालीन योजनामार्फत सबै नागरिकसम्म पहुँच पुर्याइने जानकारी पनि दिए।
प्रविधि प्रयोगमार्फत सेवा सरल र सुलभ बनाइने बताउँदै उनले पूँजीगत खर्च वृद्धि र मितव्ययी नीति आवश्यक रहेको उल्लेख गरे।
कार्यक्रममा मन्त्रालयका सचिव बासुदेव पौडेल, प्रवक्ता गुणानिधि पोख्रेललगायत कार्यालय प्रमुखहरूले आ–आफ्नो धारणा राखेका थिए। मन्त्रीका स्वकीय सचिव महेन्द्र केसीका अनुसार विकास निर्माणमा समय, गुणस्तर र जनगुनासो न्यूनीकरणमा विशेष ध्यान दिन भनिएकाे छ।