प्यूठान नगरपालिकाको न्यायिक समिति: मेलमिलापमार्फत विवाद समाधानमा राष्ट्रिय स्तरमै उदाहरणीय
साउन,८
प्यूठान । प्यूठान नगरपालिकाको न्यायिक समितिले मेलमिलापको माध्यममार्फत विवाद समाधान गर्दै न्याय सम्पादनमा उल्लेखनीय सफलता हासिल गरेको छ। स्थानीय तहको न्यायिक संयन्त्रको प्रभावकारी कार्यान्वयनमार्फत समाजमा सामाजिक सद्भाव, सहिष्णुता र न्यायको प्रत्याभूति दिलाउने काममा प्यूठान नगरपालिकाले देशभरका पालिकामाझ उत्कृष्ट उदाहरण पेश गरेको छ।
आर्थिक वर्ष २०८१/०८२ मा समितिमा दर्ता भएका ८५ वटा उजुरीमध्ये ६१ वटा विवाद मेलमिलापको माध्यमबाट टुंग्याइएको छ। बाँकी २४ वटा उजुरी प्रक्रियामा रहेका छन्। समितिका संयोजक तथा नगर उपप्रमुख देवेन्द्र बर्माका अनुसार न्यायिक कार्य सम्पादनलाई प्रभावकारी बनाउन मेलमिलापकर्ता ४९ जना र मनोसामाजिक परामर्शदाता १० जनाको व्यवस्था गरिएको छ।
उपप्रमुख बर्माले मेलमिलापकर्तालाई आवश्यक सेवा सुविधा प्रदान गरिएको र विवाद समाधान प्रक्रियालाई संवेदनशीलताका साथ अघि बढाइएको जानकारी दिनुभयो।
नगर प्रमुख विष्णु योगीले न्यायिक समितिले देखाएको समर्पण, समन्वय र सामाजिक न्यायको अभ्यासले प्यूठान नगरपालिकालाई देशभरकै स्थानीय तहमध्ये न्याय सम्पादनमा उत्कृष्ट बनाएको बताउनुभयो।
२०७४/०७५ सालदेखि हालसम्म समितिमा दर्ता भएका १९६ मध्ये १७० वटा उजुरी मेलमिलापमार्फत समाधान गरिएका छन् भने २ वटा उजुरी फैसलामार्फत टुंगो लगाइएको छ। तीमध्ये एक मानाचामल तथा अर्को ज्याला–मजदुरीसम्बन्धी विवाद हो।
न्यायिक समितिमा बालविवाह, लैङ्गिक हिंसा, वैदेशिक रोजगारीसम्बन्धी विवाद सबैभन्दा बढी आउने गरेको संयोजक बर्माले बताउनुभयो। परस्त्री सम्बन्ध, घरेलु हिंसा र पारिवारिक झगडासम्बन्धी उजुरी पनि निरन्तर दर्ता हुँदै आएका छन्।
नगरपालिकाले बुधबार पत्रकार सम्मेलनमार्फत न्यायिक समितिको वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै, मेलमिलापमुखी न्याय व्यवस्थाले सामाजिक सम्बन्ध सुधार्न सकारात्मक प्रभाव पारेको बताएको छ।