बेलुवा बाग्दुला सडक फराकिलो गराउने सुचना प्रकाशित ,समयमै संरचना हटाउन नगरपालिकाकाे अनुराेध
प्यूठान, साउन ८
प्यूठान नगरपालिकाले सडक विस्तारको कार्यमा कडा धार लिँदै सडक अधिकार क्षेत्रभित्र पर्ने सबै प्रकारका संरचना हटाउन ३५दिने अन्तिम समयसीमा तोकेको छ। सार्वजनिक सूचना प्रकाशित गर्दै नगरपालिकाले मापदण्ड विपरीत बनेका पक्की, कच्ची, अस्थायी वा स्थायी सबै संरचना हटाइने स्पष्ट पारेको छ।
नगरप्रमुख बिष्णु योगीले जनतामैत्री विकासको सन्देश दिँदै भने, “अब कुनै पनि बहानामा अतिक्रमण सह्य हुने छैन। सार्वजनिक सडक साघुरो बनाउने जो–कोहीलाई कानुन अनुसार कारबाही गरिनेछ।”
प्यूठान नगरपालिकाको सडक स्तरोन्नति योजनाअन्तर्गत क्षेत्रको मुख्य सडक दायाँबायाँ ७.५ मिटरका दरले कुल १५ मिटर फराकिलो बनाइँदैछ। हाल कायम रहेको केन्द्रबिन्दु (Center Line) बाट यो मापदण्ड लागू हुने जनाइएको छ।
प्राविधिक नापजाँच भइसकेको यस क्षेत्रमा संरचना हटाउन साउन ०८गतेदेखि गणना हुने गरी ३५ दिनको सूचना अवधि दिइएको छ। यस अवधिमा स्वेच्छाले नहटाइएमा बिना क्षतिपूर्ति कानुनी प्रक्रियाअनुसार बाध्यकारी रूपमा हटाइने चेतावनी दिइएको छ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दराज घिमिरेद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “अवैध अतिक्रमणले नगरको सुन्दरता मात्र होइन, सार्वजनिक आवागमनलाई समेत असर पारेको हुँदा अब ढिलासुस्ती नगरिनेछ।”
नगरप्रमुख योगीका अनुसार “एक वडा, एक सडक कालोपत्रे” अभियान पनि नगरपालिकाको प्राथमिक योजनाभित्र पर्छ। “विकास अब योजनामा मात्र होइन, सडकमा देखिने गरी हुन्छ,” उनले भने।
उनले थपे, “जनताको कर तिर्ने जिम्मेवारी जत्तिकै हाम्रो कर्तव्य सुशासन र सार्वजनिक सम्पत्तिको संरक्षण हो। सडक विस्तार नगरको मुहार परिवर्तन गर्ने पहिलो पाइला हो।”
नगरपालिकाले आम नागरिक, व्यवसायी, घरधनी, संघ–संस्थाहरू तथा सरोकारवालाहरूलाई सडक अतिक्रमण हटाउन सहयोग गर्न विशेष अनुरोध गरेको छ। सहकार्य नगर्नेहरूलाई भने नगरप्रमुख योगीले कानुनको कठघरामा ल्याइने चेतावनी दिएका छन्।
सडक साघुरो भएर दैनिक जाम, दुर्घटना र असुविधा खेपिरहेका प्यूठानवासीले नगरपालिकाको यो निर्णयलाई सकारात्मक रूपमा लिएका छन्। धेरै नागरिकहरूले सामाजिक सञ्जालमार्फत नगरप्रमुख योगीलाई धन्यवाद दिँदै छिटो कार्यान्वयनको अपेक्षा व्यक्त गरेका छन्।