बाग्दुला–मच्छी–ठुलावेसी सडक बजेट कार्यान्वयनबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
प्यूठान, साउन ९ ,झिमरुक
झिमरुक गाउँपालिका अध्यक्ष श्री पित बहादुर महतर क्षेत्रीको अध्यक्षतामा आज बाग्दुला–मच्छी–ठुलावेसी सडक योजनाको बजेट कार्यान्वयन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
आर्थिक वर्ष २०८२/०८३ का लागि संघीय, प्रदेश र स्थानीय सरकारबाट विनियोजित बजेटमार्फत सडक निर्माण तथा सुधारको कार्य अघि बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
झिमरुक गाउँपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रममा प्यूठान नगरपालिकाका मेयर, जिल्ला प्रशासन कार्यालय प्यूठानका प्रमुख जिल्ला अधिकारी, गौमुखी गाउँपालिकाका कार्यवाहक अध्यक्ष, झिमरुक तथा गौमुखी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, सडक पूर्वाधार प्रमुख, सडक डिभिजन कार्यालयका प्रतिनिधि, नेपाल विद्युत प्राधिकरणका प्रतिनिधि, वडा अध्यक्षहरू, सम्बन्धित शाखाका कर्मचारी तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।’
अन्तरक्रिया कार्यक्रममा बजेट कार्यान्वयन प्रक्रियामा देखिने चुनौती, सम्भावित अवरोध, उपभोक्ताको भूमिका तथा समन्वयको आवश्यकता बारे गहन छलफल भएको थियो। सहभागीहरुले बजेट पारदर्शिता, निर्माण गुणस्तर र समयसीमाभित्र काम सम्पन्न गर्नुपर्नेमा जोड दिएका थिए।
सडक पूर्वाधारलाई प्राथमिकतामा राख्दै समन्वयात्मक रुपमा काम अघि बढाउने प्रतिबद्धता स्थानीय सरकार र सम्बन्धित निकायहरूले व्यक्त गरेका छन्।