झिमरुकको कक्षा १२ नतिजा जिल्लामै उत्कृष्ट, गाउँपालिकाबाट सफल विद्यार्थीलाई बधाई
साउन २० ,झिमरुक, प्यूठान
२०८१ सालको कक्षा १२ को परीक्षामा झिमरुक गाउँपालिकाले जिल्लामै उदाहरणीय सफलता हासिल गरेको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरद्वारा सार्वजनिक नतिजाअनुसार झिमरुक गाउँपालिकाका सामुदायिक विद्यालयहरूबाट ६०.४२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
गाउँपालिकाभित्रका पाँचवटा सामुदायिक माध्यमिक विद्यालयहरूबाट सहभागी भएका विद्यार्थीहरूको प्रदर्शन जिल्लामै उत्कृष्ट रहेको बताउँदै गाउँपालिकाले सफल विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिएको छ।
गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले विद्यार्थीहरूलाई हार्दिक बधाई दिँदै यस उपलब्धिमा योगदान गर्ने सम्पूर्ण विद्यालय प्रशासन, शिक्षक, अभिभावक, शिक्षा शाखा, युवा तथा खेलकुद शाखा, गाउँपालिका शिक्षा समिति, कर्मचारी तथा जनप्रतिनिधिलाई धन्यवाद ज्ञापन गर्नुभएको छ। उहाँले भन्नुभयो, “यस सफलताले झिमरुकको शैक्षिक प्रतिष्ठा अझै उचो बनाएको छ र आगामी वर्षहरूमा झनै उत्कृष्ट नतिजा ल्याउने प्रेरणा मिल्नेछ।”
एक स्थानीय शिक्षा प्रेमीका अनुसार, झिमरुकका सामुदायिक विद्यालयहरूको नतिजा जिल्लामै अग्रस्थानमा रहेको छ। विद्यालय, विद्यार्थी र अभिभावकहरूको समन्वयपूर्ण मेहनतकै फलस्वरूप यस्तो उत्साहजनक नतिजा आएको हो।
गाउँपालिकाले भविष्यमा अझ गुणस्तरीय शिक्षा प्रवाह गर्ने प्रतिबद्धता जनाउँदै सम्पूर्ण उत्तीर्ण विद्यार्थीहरूलाई उज्यालो भविष्यको शुभकामना व्यक्त गरेको छ।