झिमरुक गाउँपालिकाको शिक्षा क्षेत्रमा उदाहरणीय प्रगति, देशकै नमुना बन्ने संकेत

बिमल प्रसाद पाेख्रेल( संघर्ष मिडिया संचालक सम्पादक )
साउन २०,झिमरुक, प्यूठान
प्यूठान जिल्लाको झिमरुक गाउँपालिकाले पछिल्ला वर्षहरूमा शिक्षा क्षेत्रमा गरेका संरचनागत सुधार र नीतिगत निर्णयहरूले स्थानीय तहकै मात्र नभई देशमै उदाहरणीय मोडेल बन्ने संकेत देखिएको छ। सामुदायिक विद्यालयहरूको गुणस्तर वृद्धि, विद्यार्थीको नतिजामा आएको उल्लेखनीय सुधार, र ब्याचलरसम्मको निःशुल्क शिक्षा सुविधा लगायतका पहलहरूले झिमरुकको शैक्षिक उचाइ थप बलियो बनाएको हो।

गाउँपालिकाका अध्यक्ष पित बहादुर एमसी र उपाध्यक्ष प्रमोद पोखरेलको नेतृत्वमा हाल सञ्चालनमा रहेका कार्यक्रमहरूले अघिल्लो कार्यकालको नीति र अभ्यासलाई निरन्तरता दिँदै झनै सशक्त बनाएको पाइन्छ। अघिल्लो कार्यकालमा तत्कालीन अध्यक्ष तिलक बहादुर जिसीको नेतृत्वमा पालिकाले सामुदायिक विद्यालयमा ८३ वटा शिक्षक दरबन्दी सिर्जना गरी स्थायी शिक्षा संरचना निर्माण गरेको थियो।
यसैको निरन्तरतामा हालको कार्यपालिकाले थप दरबन्दी सिर्जना गर्दै सामुदायिक विद्यालयमा आवश्यक जनशक्ति व्यवस्थापन गरिरहेको छ। यस्तै, गाउँपालिकाले स्थानीयस्तरमै क्याम्पसमार्फत ब्याचलरसम्मको पढाइ निःशुल्क बनाउने निर्णय कार्यान्वयनमा ल्याएको छ, जुन देशकै कमै पालिकामा पाइने सुविधा हो।
झिमरुक गाउँपालिकामा हाल १३ सामुदायिक र २ निजि विद्यालयसहित १ क्याम्पस सञ्चालनमा रहेको छ। सामुदायिक विद्यालयहरूको २०८१ सालको कक्षा १२ को नतिजा जिल्लामै उत्कृष्ट रहेको शिक्षा शाखाले जनाएको छ। यसअघि एसईई परीक्षामा पनि उल्लेखनीय सफलता हासिल गरिएको थियो।
शिक्षा शाखाका तत्कालीन प्रमुख मोहन बिसीले सामुदायिक विद्यालयको सुधारका लागि विभिन्न रचनात्मक पहल, सल्लाह र समन्वय गरेका थिए। हाल सरुवा भएर गएका भए पनि उहाँको योगदानलाई पालिकाले उच्च सम्मानका साथ स्मरण गरेको छ।

अध्यक्ष एमसीका अनुसार, “झिमरुकको शिक्षामा आएको सुधार केवल सरकारको प्रयास होइन, यो शिक्षक, अभिभावक, विद्यार्थी, जनप्रतिनिधि र सम्पूर्ण समुदायको साझा प्रतिबद्धताको परिणाम हो।” उहाँले अन्य स्थानीय तहका विद्यार्थीहरू पनि अध्ययनका लागि झिमरुक आउन थालेको बताउँदै पालिकाको शैक्षिक पहुँच र प्रभाव बढिरहेको जानकारी दिनुभयो।
शिक्षा सुधारका प्रयासमा झिमरुक गाउँपालिकाले आयोजना गरेका कार्यक्रमहरूमा शिक्षा सम्मेलन, शिक्षक अभिमुखीकरण, अभिभावक–शिक्षक अन्तरक्रिया, र विद्यार्थी लक्षित विशेष कक्षा जस्ता कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुँदै आएका छन्।

शिक्षामा गरिएको यस्ता दीर्घकालीन लगानीले अब झिमरुक गाउँपालिकालाई स्थानीय तहमा शिक्षा क्षेत्रमा नमुना बनाउने दिशातर्फ अगाडि बढाएको छ।