जन्मदिनमा केक होइन, समरले बाडे ममताको उपहार

प्युठान, साउन २२
प्युठान नगरपालिका–७, लिपिकोटका अति विपन्न र सुकुमबासी परिवारलाई एकजना किशोरले आफ्नो जन्मदिनमा सहयोग पुर्‍याउँदै उदाहरणीय काम गरेका छन्।

प्युनपा–२, जुम्री निवासी सुवास खडकाका १५ वर्षीय छोरा समर खडकाले आफ्नो जन्मदिन मनाउने नाममा हुने सामान्य र फजुल खर्च कटौती गर्दै स्व. कृष्ण दमाइकी श्रीमती बच्ची दमाइको परिवारलाई डसना, तन्ना, सिरानी, झुल र पि म्याटसहितको ओढ्ने–ओछ्याउने एक सेट सामग्री हस्तान्तरण गरेका हुन्।

बच्ची दमाई अति विपन्न, एकल महिला तथा सुकुमबासी परिवारकी प्रतिनिधि हुन्, जसको घरको टहराको टिनको छानो समेत सडिसकेको थियो। बर्खाको समयमा वर्षातले सुत्ने, बस्ने ठाउँ समेत अस्तव्यस्त भएपछि उनीहरू अत्यन्तै जोखिममा थिए।

उनको दु:खद अवस्थामा सहयोग गर्न स्थानीय युवा, नेपाली सेना (बर्दबहादुर गुल्म, पुन्यखोला), नागरिक समाज, र “म अभियान” का अभियन्ताहरूले छाना छाउने, अस्थायी शौचालय बनाउने, खाट निर्माण गर्ने तथा दाल, चामल, नुन, तेलजस्ता खाद्यान्न सामग्री पुर्‍याएका थिए।

यसै प्रयासलाई थप मानवता र संवेदनासहित जोड्दै समर खडकाले आफ्नो जन्मदिनमा गरिने फजुल खर्चलाई उपयोगी र उदाहरणीय सामाजिक कर्ममा रूपान्तरण गरेका हुन्।

उनको यो कार्यले समाजमा एउटा प्रेरणादायी सन्देश दिएको छ –
“जन्मदिन केक र पार्टीले मात्र होइन, दुखीलाई सहयोगले पनि स्मरणीय र अर्थपूर्ण बनाउन सकिन्छ।”

स्थानीयवासी, समाजसेवी र अभियन्ताहरूले खडकाप्रति आभार व्यक्त गर्दै यस्तो कार्यले नयाँ पुस्तालाई सामाजिक उत्तरदायित्व बोध गराउने र जन्मदिनजस्ता अवसरलाई सदुपयोग गर्ने संस्कार विकास गर्न सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्।

यो उदाहरणले हाम्रै समाजमा जन्मदिनको नाममा हुने बेफजुल खर्चलाई अर्थपूर्ण बनाउने दिशा देखाएको छ। यदि हरेक व्यक्तिले यस्ता विशेष दिनमा दुःखीलाई सानो सहयोग पनि गर्न सके, समाजमा ठूलो परिवर्तन सम्भव छ।
“केक काटेर सकिने जन्मदिन होइन, कोहीको जीवनमा आशा बाँड्ने जन्मदिन बनाऔं।”

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।