प्यूठानमा २५० भन्दा बढीको सामूहिक रास्वपा प्रवेश : अवसरवादी जमघट कि नयाँ राजनीतिक विकल्प ?
भदाै १,प्यूठान
प्यूठान — प्यूठानमा एकैपटक विभिन्न दल परित्याग गरी करिब २५६ जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्। तर, यो प्रवेशलाई स्थानीय राजनीतिक वृत्तले “अवसरवादीहरूको जमघट” भन्दै दीर्घकालीन टिकाउ नहुने टिप्पणी गरेका छन्।

जनमोर्चा, नयाँशक्ति हुँदै पछिल्लो समय ‘नागरिक स्वतन्त्र मञ्च’ बनाएर सक्रिय रहेका जिल्ला विकास समिति (जिविस) का पूर्वसभापति कर्णध्वज केसी, हिजाे मात्रै पार्टिले कार्बाहि गरेका नेपाली काँग्रेस क्षेत्र ‘क’ का उपसभापति रेशमबहादुर ठेडी रासपामा गएका छन।
एमालेबाट नागरिक मञ्चको अगुवाई गर्दै आएका दलबहादुर केसी पनि रास्वपामा प्रवेश गरेका छन्। काँग्रेसले आन्तरिक विधि उल्लंघन गरेको भन्दै कारबाहीमा परेका नेतासहित, काँग्रेस–एमाले–माओवादीमा आस्था राखेका केही स्थानीय नेताहरूले पनि पार्टी छाडेर रास्वपाको बाटो रोजेका छन्।
उनीहरूलाई पार्टी प्रवेश गराउँदै रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटी र प्रदेश अध्यक्ष देवराज पाठकले सदस्यता दिएका थिए। सो अवसरमा महामन्त्री बुर्लाकोटीले रास्वपालाई “सबै नेपालीको केन्द्र”का रूपमा अघि बढाउने घोषणा गर्दै, जनताको समस्या समाधानमा पार्टी गम्भीर हुने दाबी गरे।
प्रदेश अध्यक्ष पाठकले प्यूठानमा भएको ठूलो संख्याको प्रवेशले रास्वपाप्रति देशव्यापी आकर्षण बढेको उल्लेख गरे। पार्टीका अनुसार हालसम्म प्यूठानका सबै नौ स्थानीय तहमा संगठन विस्तार भइसकेको छ।
तर स्थानीय राजनीतिक विश्लेषकहरूले भने, रास्वपामा प्रवेश गर्नेमध्ये धेरैजसो अवसरवादी प्रवृत्तिका व्यक्तिहरू भएको दाबी गर्दै आगामी दिनमा यिनै समूहले पार्टीभित्र असन्तोष र अस्थिरता ल्याउन सक्ने चेतावनी दिएका छन्। “आज जे उत्साह देखिन्छ, भोलि यही जमात पछुताउन सक्छ,” उनीहरू भन्छन्।
२०७९ सालको संघीय निर्वाचनमा प्यूठानबाट रास्वपाले समानुपातिकतर्फ करिब ६ हजार र प्रतिनिधिसभातर्फ कृष्णप्रसाद पोख्रेलमार्फत ३ हजार ३१८ मत पाएको थियो। सो संख्यालाई आधार बनाएर पार्टीले संगठन विस्तार त देखाएको छ तर, अवसरको खोजीमा आएका समूहले फेरि अर्को विकल्प रोज्ने सम्भावनाप्रति सचेत रहनुपर्ने आवश्यकता स्थानीय राजनीतिक वृत्तले औंल्याएको छ।