स्वर्गद्वारीमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा, आएकाे दुई बर्षमा २६४ जना बिरामीले पाए उपचार
स्वर्गद्वारी, प्यूठान ,असोज २९, २०८२
बिमल प्रसाद पाेख्रेल
प्यूठान जिल्लाको स्वर्गद्वारी नगरपालिका–९ कच्छारमा स्थापना गरिएको सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएपछि प्यूठानलगायत छिमेकी जिल्लाका दर्जनौँ बिरामीहरूलाई अकाल मृत्युदेखि बचाउन सकिएको छ। नेपाली सेनाको प्राविधिक सहयोग र जिल्लाका ९ वटै स्थानीय तहको आर्थिक सहभागितामा निर्माण सम्पन्न भएको यो केन्द्र २०८० सालदेखि सेवा दिन थालेको हो।

स्वर्गद्वारी नगरपालिकाको विशेष पहलमा सुरु गरिएको यो केन्द्र पहिले सेनाको गुल्म नजिकै सञ्चालनमा थियो, जसका कारण स्वास्थ्य सेवामा सहजता थियो। गुल्म अन्यत्र सरेपछि केही कठिनाइ भए पनि हाल पनि सेनाबाट आएका प्रशिक्षित प्राबिधिक हरूको टोलीले सेवा निरन्तर दिइरहेका छन्।
केन्द्र सञ्चालनमा आएदेखि हालसम्म २६४ जना बिरामी सर्पदंशको उपचारमा आएका छन्।२ जनाको मृत्यु भएको पुष्टि गरिएको छ – एकजना उपचारकै क्रममा र अर्काे बाटोमै।
८ जना गम्भीर बिरामीलाई नेपालगञ्ज वा बुटवल रिफर गरिएको छ।
भदौमा २३ जना, साउनमा २५ जना, असारमा २९ जना, जेठमा १७ जना र बैशाखमा १० जनाले सेवा लिएका छन्।
सबैभन्दा धेरै भाईबर (Viper) जातको सर्पदंश देखिएको छ भने करेत लगायत अन्य सर्पले टोकेको अवस्थामा लक्षणको आधारमा उपचार गरिन्छ। शंका लागे पनि लक्षण नदेखिने बिरामीलाई २४ घन्टा निगरानीमा राखिन्छ।

आकस्मिक सेवा र पूर्वाधार
केन्द्रमा चार शैय्या (बेड) सहितको आकस्मिक सेवा कक्ष निर्माण गरिएको छ।
६६ लाख ५० हजार रुपैयाँको लागतमा केन्द्र निर्माण गरिएको हो।
बर्दबहादुर गणबाट २ जना प्राविधिक, पालिकाबाट २ जना र १ कार्यालय सहयोगी कार्यरत छन्।
एउटा मोटरसाइकल उपचार टोलीका लागि स्वर्गद्वारी नगरपालिकाले उपलब्ध गराएको छ।

घरेलु उपचारको जोखिम
स्वास्थ्यकर्मीहरूका अनुसार, अझै पनि ग्रामीण क्षेत्रका धेरै बिरामीहरू धामी-झाँक्री वा घरेलु उपचारमा भर पर्ने प्रवृत्तिका कारण समयमै अस्पताल नआउँदा ज्यान गुमाइरहेका छन्।
२०८२ जेठमा ऐरावती गाउँपालिका–६ की ३३ वर्षीया अमृता गुरुङको घटना त्यसको एक उदाहरण हो। उनलाई धामी झाँक्री गरेर एक दिन ढिलो अस्पताल ल्याइएको थियो, तर बचाउन सकिएन।
SVS (Anti-Snake Venom Serum) औषधि नेपाल सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको छ।
तर प्यूठान, रोल्पा, अर्घाखाँची लगायत पहाडी जिल्लाहरूमा कहिलेकाहीँ आपूर्ति कम हुने गरेको छ।
यो केन्द्रले न केवल प्यूठान, तर रोल्पा, अर्घाखाँची, दाङ जस्ता छिमेकी जिल्लाका सर्पदंश पीडितहरूलाई पनि राहत दिएको छ।
असाेज २२ गते राेल्पा नगरपालिका–१, बाजबिसौनाका ५९ वर्षीय दिलमन कुँवरलाई बिहान सात बजे घाँस काट्ने क्रममा भाईबर जातको विषालु सर्पले टोक्यो। उनलाई उनका छोरा हरिबहादुर कुँवरले अस्पताल पुर्याएका थिए।

यसैगरी लुंग्री गाउँपालिका–६ गुम्चालकी २२ वर्षीया पुर्णा थापालाई पनि भदौ १९ गते बिहीबार घाँस काट्ने क्रममा सर्पले टोकेको थियो। उनलाई उनका हजुरबुबा खिमबहादुर थापाले उपचारका लागि लगेका थिए।

स्वर्गद्वारी नगरपालिका–९ का स्थानीयवासी भन्छन्, “पहिले सर्पले टोकेपछि बुटवल वा नेपालगञ्ज धाउनु पर्थ्याे, अहिले चाँडै उपचार पाउन थालेका छाैं।
स्वर्गद्वारी सर्पदंश उपचार केन्द्र प्यूठान जिल्लामा जीवनरक्षाको एक महत्वपूर्ण आधार बनेको छ। सीमित स्रोत र चुनौतीबीच पनि सेनाको प्राविधिक सहयोग, स्थानीय सरकारको सक्रियता र जनचेतनाले सर्पदंशका विरुद्धको लडाइँमा नयाँ आशा देखिएको छ।
