प्यूठानको बिजुवारमा निमतारा पोलिक्लिनिकको तेस्रो वार्षिकोत्सव: दन्त र आँखा सेवा समेत सुरु

बिमल प्रसाद पाेख्रेल
असाेज,५
प्यूठान — प्यूठान नगरपालिका–४, बिजुवारमा सञ्चालित निमतारा पोलिक्लिनिक प्रा.लि. ले स्थापनाको तेस्रो वर्षगाँठको अवसरमा दन्त र आँखा उपचार सेवा थप गर्दै सेवा विस्तार गरेको छ। स्थानीय स्वास्थ्य सेवाको नयाँ मीलका पत्थरका रूपमा मानिएको यो केन्द्र अब निमतारा डेन्टल क्लिनिक र श्रीकृष्ण आँखा उपचार केन्द्र एकै छानामुनि सञ्चालनमा आएको हो।

झिमरुक गाउँपालिका–६, अर्गेलीका निमानसिंह जिसि र तारा देवी जिसिका छोराहरू—डा. सुवास जिसि र डा. प्रकाश जिसि—ले एमबीबीएस र एमडी सकाएर गाउँकै नाम उज्यालो बनाएका हुन्। उनीहरूले २०७९ सालमा आमाबुबाको सपना साकार पार्दै आमाबुबाकै नाममा ‘निमतारा पोलिक्लिनिक’ सुरु गरेका थिए। तेस्रो वार्षिकोत्सवको दिन आमाबुबा स्वयंले रिबन काटी नयाँ सेवाको उद्घाटन गरेका छन्।

क्लिनिकमा २४ घण्टा इमर्जेन्सी, ओपीडी, सामान्य शल्यक्रिया, मानसिक रोग, बाल रोग, मधुमेह, मुटु रोग, स्त्रीरोग, नशा रोग लगायतका सेवा दिँदै आएको छ। वरिष्ठ रेडियोलोजिस्टको निगरानीमा भिडियो एक्स-रे, एनओमली स्क्यान, अत्याधुनिक ल्याब परीक्षण सुविधा यहाँ उपलब्ध छन्।

सेवा विस्तारको घोषणा गर्दै डा. सुवास जिसिले भने, “दात र आँखाका बिरामीको बढ्दो आवश्यकतालाई ध्यानमा राख्दै दन्त र नेत्र उपचार सुरु गरेका हौं।”
डा. प्रकाश जिसिले भने, “हामी यही गाउँमा हुर्क्यौं, समुदायको स्कुलमा पढ्यौं। बाबाको सपना अनुसार मेहनत गर्दा आज जिल्लाबासीको सेवा गर्न पाउँदा गर्व छ।”

स्थानीयवासीका अनुसार दुवै दाजुभाइ नम्र व्यवहार, सरल बोली र मुस्कानसहित सेवा गर्ने चिकित्सकका रूपमा पहिचान बनाएका छन्। उनीहरूले आर्थिक अभावमा उपचार पाउन नसक्नेहरूलाई निःशुल्क उपचार गर्दै विभिन्न ठाउँमा स्वास्थ्य शिविर सञ्चालन पनि गर्दै आएका छन्।

निमतारा पोलिक्लिनिकको यो पहलले गाउँमै आधुनिक स्वास्थ्य सुविधा पुर्‍याउँदै जिल्लाबासीलाई काठमाडौँ वा बुटवल धाउनुपर्ने बाध्यता कम गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।