प्यूठान जिल्ला प्रहरी अपराध अनुसन्धानमा प्रदेशमै उत्कृष्ट
प्यूठान, भदौ ७,
बिमल प्रसाद पाेख्रेल
प्यूठान जिल्लामा घटेका जघन्य अपराधदेखि दैनिक आपराधिक घटनासम्मको अनुसन्धानमा प्यूठान प्रहरीले उल्लेखनीय सफलता हात पारेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपेश वस्यालले जानकारी दिएका छन्।
उनका अनुसार आफ्नो कार्यकालभर कर्तव्य ज्यान, जवरजस्ती करणी, चोरी, जनजबरजस्ती करणी उद्योग र साइबर अपराधलगायतका सबै घटनाको अनुसन्धान सम्पन्न गरी प्रतिवादीलाई कानुनी दायरामा ल्याइएको छ। गत असोजदेखि भदौ मसान्तसम्म मात्र कर्तव्य ज्यानका ८, जवरजस्ती करणीका १५, चोरी ५, जनजबरजस्ती करणी उद्योग ६ र साइबर अपराध १ घटना दर्ता भई सबैको अनुसन्धान टुंग्याइएको वस्यालले बताए।

यस अवधिमा ८८ आत्महत्या, २ जातीय छुवाछुत/भेदभाव, १५ अभद्र व्यवहार, ५ बहुविवाह र १ बालविवाहका उजुरी दर्ता भएका थिए। दर्ता भएका १ सय ५६ ठाडो उजुरी मिलापत्रमा परिणत भएको उनले जानकारी दिए। अदालतको फैसला भई फरार रहेका ८५ मध्ये ४३ प्रतिवादी पक्राउ परेका छन्। सो अवधिमा १४ लाख ५५ हजार ९७१ रुपैयाँ जरिवाना असुल गरिएको कार्यालयले जनाएको छ।
सरुमारानी–दरभानको शिशु हत्या, माण्डवी–मर्कावाङ र गौमुखी–खुङका हत्या प्रकरणसहितका जघन्य घटनाको सफल अनुसन्धान गरी दोषीलाई कारबाही प्रक्रिया अघि बढाइएको डिएसपी वस्यालले उल्लेख गरे। वैंकिङ कसुर र साइबर अपराध प्यूठानका लागि नयाँ प्रकृतिका चुनौती भए पनि लागुऔषधसम्बन्धी घटना न्यून रहेको उनको भनाइ छ।
वस्यालका अनुसार अपराध अनुसन्धानको यो उपलब्धिले प्यूठान प्रहरीले प्रदेशमै उत्कृष्ट जिल्लाको पहिचान पाएको छ।