कालिका अंग्रेजी आवासीय माविमा अभिमुखीकरण तथा उत्प्रेरणात्मक कार्यक्रम सुरु

प्युठान, असार ६ – प्युठान नगरपालिका–४ टारीस्थित कालिका अंग्रेजी आवासीय माध्यमिक विद्यालयको आयोजनामा दुई दिने शिक्षक, अभिभावक तथा विद्यार्थी लक्षित अभिमुखीकरण एवं उत्प्रेरणात्मक कार्यक्रम सुरु भएको छ।

कार्यक्रमको उद्घाटन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निमान सिंह जी.सी.को अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्युठान नगरपालिकाका प्रवक्ता तथा वडा नं. ३ का वडाध्यक्ष सुमन राज श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो भने वरिष्ठ प्रेरक तथा प्रशिक्षक डा. तारा प्रसाद गिरि विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रमको पहिलो दिन दुई चरणमा प्रशिक्षण सञ्चालन गरिएको थियो। बिहानी सत्रमा कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरूलाई लक्षित गरी उज्ज्वल भविष्य निर्माण, अनुशासन, अध्ययनप्रतिको लगाव तथा जीवन उपयोगी सीपसम्बन्धी उत्प्रेरणात्मक प्रशिक्षण प्रदान गरिएको थियो।
त्यसैगरी दिवा सत्रमा नर्सरीदेखि कक्षा १ सम्म अध्ययनरत बालबालिकाका अभिभावक तथा विद्यालयका शिक्षक–शिक्षिकाहरूलाई लक्षित गरी बाल मनोविज्ञान, बालबालिकाको सिकाइ प्रक्रिया तथा अभिभावकको भूमिकाबारे अन्तरक्रियात्मक प्रशिक्षण सञ्चालन गरिएको थियो।
दुवै सत्रमा मुख्य प्रशिक्षकका रूपमा प्रशिक्षण दिनुभएका डा. तारा प्रसाद गिरिले विद्यार्थीहरूलाई लक्ष्य निर्धारण, समय व्यवस्थापन र अध्ययनमा एकाग्रता कायम गर्ने उपायबारे जानकारी गराउनुभएको थियो। साथै अभिभावकहरूलाई घरमा सकारात्मक शैक्षिक वातावरण सिर्जना गरी बालबालिकाको समग्र विकासमा सहयोग पुर्‍याउनुपर्ने विषयमा सुझाव दिनुभएको थियो।
कार्यक्रममा गेहेराज पण्डित, गुन्जबहादुर खड्का, नागेशचन्द्र सुवेदी, विमला सुवेदी खनाल, दीपेन्द्र जी.सी., घनश्याम न्यौपाने, सुमन सुवेदी, जीवराज न्यौपाने, बोमबहादुर परियार र दुर्गाबहादुर गुरुङ लगायत स्थानीय बुद्धिजीवी तथा समाजसेवीहरूको समेत उपस्थिति रहेको थियो।
विद्यालयका सहायक प्रधानाध्यापक शेरबहादुर पाण्डेले सञ्चालन गर्नुभएको कार्यक्रममा विद्यार्थी, अभिभावक तथा शिक्षकहरूको उत्साहजनक सहभागिता रहेको थियो।
पहिलो दिनको कार्यक्रम प्रभावकारी र उपलब्धिमूलक रहेको सहभागीहरूले बताएका छन्। विद्यालयका अनुसार दोस्रो दिन पनि विभिन्न लक्षित समूहका लागि उत्प्रेरणात्मक तथा शैक्षिक प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछन्।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।