झिमरुक खोलामा डुबेर किशोरको मृत्यु
प्युठान, जेठ २ । जिल्ला प्युठानको झिमरुक खोला मा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार शुक्रबार अपराह्न करिब ४ः३० बजे प्युठान नगरपालिका–१ खैरास्थित झिमरुक खोलामा पौडी खेल्ने क्रममा स्थानीय श्रीधर आचार्यका छोरा अन्दाजी १४ वर्षीय नोबेल आचार्य डुबेर घाइते भएका थिए ।
घटनाबारे स्थानीयवासीले जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय प्युठानबाट प्रहरी निरीक्षक हरि भट्टराईको कमाण्डमा ११ जनाको टोली खटिएको थियो । प्रहरी टोलीले घाइते किशोरको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बिजुवार पठाएको थियो ।
उपचारकै क्रममा साँझ करिब ५ः३० बजे नोबेल आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।