गृहमन्त्री सुदन गुरुले दिए राजिनामा

गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनुभएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई गम्भीर रूपमा लिँदै पदबाट राजीनामा दिनुभएको हो।

मन्त्री गुरुङले आफ्नो राजिनामा पत्र प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष पेश गर्नुभएको जानकारी प्रधानमन्त्रीका सञ्चार सहजकर्ता सुरेन्द्र बजगाईले बताउनुभयाे । गृह मन्त्रालयको जिम्मेवारी हालका लागि प्रधानमन्त्रीले नै सम्हाल्नु हुने छ।

आफ्नो राजीनामाका सम्बन्धमा स्पष्ट पार्दै मन्त्री गुरुङले पदभन्दा नैतिकता र जनविश्वास ठूलो भएको बताउनुभएको छ। आजको समयमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको ‘जेन जी’ आन्दोलनले सार्वजनिक जीवन स्वच्छ हुनुपर्ने र नेतृत्व उत्तरदायी हुनुपर्ने सन्देश दिएको उहाँको भनाइ छ। ४६ जना दाजुभाइ तथा दिदीबहिनीको रगत र बलिदानीको जगमा बनेको सरकारमाथि प्रश्न उठ्दा त्यसको निर्धक्क जवाफ दिनु आफ्नो नैतिक कर्तव्य भएको उहाँले उल्लेख गर्नुभएको छ।

आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको उहाँले स्पष्ट पार्नुभएको छ। मन्त्री गुरुङले आफूले नैतिक जिम्मेवारी निर्वाह गरेको बताउँदै परिवर्तनका लागि सबै पक्ष सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा उभिनुपर्नेमा जोड दिनुभएको छ।

राजीनामा पश्चात् सञ्चारकर्मी र आम नागरिकलाई अपिल गर्दै उहाँले कतिपय मिडियाकर्मीहरूको शेयर लगानीका विषयहरू पनि क्रमशः बाहिर आउने बताउनुभयो। रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस देखाउनुपर्ने भन्दै उहाँले पदबाट बाहिरिएर छानबिनलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
गाेरखापत्रबाट शाभार।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।