स्वास्थ्य सचेतनाका सन्देशलाई प्राथमिकता दिन सञ्चारकर्मीलाई आग्रह

प्यूठान, असार ७ ।
स्वास्थ्यसम्बन्धी सकारात्मक तथा जनचेतनामूलक सन्देशलाई सञ्चार माध्यममार्फत व्यापक रूपमा प्रवाह गर्न प्यूठानका सञ्चारकर्मीहरूलाई आग्रह गरिएको छ।
स्वास्थ्य कार्यालय प्यूठानले आइतबार आयोजना गरेको “स्वास्थ्य प्रवर्द्धनका लागि मिडिया पैरवी कार्यक्रम” मा सहभागीहरूले उपचारभन्दा पनि रोग लाग्न नदिनेतर्फ केन्द्रित सूचना तथा सामग्री उत्पादन र प्रसारण गर्नुपर्नेमा जोड दिएका हुन्।
कार्यक्रममा स्वास्थ्य कार्यालयका कोल्डचेन अधिकृत कौशल वैद्य ले अधिकांश मानिस बिरामी परेपछि मात्रै अस्पताल पुग्ने प्रवृत्ति अझै कायम रहेको बताउनुभयो। उहाँले नियमित स्वास्थ्य परीक्षण, स्वस्थ जीवनशैली र रोगको रोकथामसम्बन्धी विषयलाई सञ्चार माध्यमले प्राथमिकताका साथ उठाउनुपर्ने धारणा राख्नुभयो।
“रोग लागेपछि उपचार खोज्नेभन्दा रोग लाग्नै नदिने संस्कृतिको विकास आवश्यक छ,” उहाँले भन्नुभयो, “सञ्चार माध्यम र सामाजिक सञ्जालले जनतालाई सही स्वास्थ्य जानकारी दिन महत्वपूर्ण भूमिका खेल्न सक्छन्।”
कार्यक्रममा पछिल्लो समय उच्च रक्तचाप, मधुमेह, मुटुरोग तथा क्यान्सरजस्ता नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको चर्चा गरिएको थियो। यस्ता रोगबाट बच्न नियमित व्यायाम, सन्तुलित आहार, धूमपान तथा मदिरा सेवनबाट टाढा रहने र समयमै स्वास्थ्य परीक्षण गराउने बानी विकास गर्नुपर्नेमा जोड दिइएको थियो।
लुम्बिनी प्रदेश सरकारको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको उक्त कार्यक्रममा सञ्चारकर्मी र स्वास्थ्यकर्मीबीच स्वास्थ्य सचेतना अभिवृद्धिमा सञ्चार क्षेत्रको भूमिकाबारे छलफल समेत गरिएको थियो।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।