सातै प्रदेशमा निर्यात गृह खोल्न उद्योगमन्त्री समक्ष निजी क्षेत्रको माग

नेपाल चेम्बर अफ कमर्सले सातै प्रदेशमा स्थानीय उत्पादनको प्रवर्द्धन हुनेगरी निर्यात गृह खोल्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी समक्ष आग्रह गरेको छ ।

चेम्बर अध्यक्ष राजेन्द्र मल्ल सहितको पदाधिकारी टोलीले उद्योगमन्त्री भण्डारीसँग भेट्दै निर्यात गृहको अवधारणा

अविलम्ब लागु गर्न आग्रह गरेको हो ।

‘स्थानीय उत्पादनहरुको एकीकृत प्रवर्द्धन, बजारीकरण एवम् गुणस्तर मापन पछि एकद्वार प्रणाली मार्फत निर्यात गर्न सातै प्रदेशमा निर्यात गृह खोल्न आवश्यक छ,’ चेम्बरले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

चेम्बरले रेमिट्यान्सबाट भित्रिने रकमलाई उत्पादनमूलक क्षेत्रमा लगाउने गरी नीतिगत व्यवस्था गर्न पनि मन्त्री भण्डारीलाई सुझाव दिएको छ ।

रेमिट्यान्सको झण्डै ९० प्रतिशत हिस्सा उपभोगमै खर्च भइरहेको सन्दर्भमा चेम्बरले अर्थतन्त्रको विस्तारमा योगदान गर्नेगरी उत्पादनमूलक क्षेत्रमा लगानीको वातावरण बनाउनुपर्ने बताएको हो ।

अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको भन्दै चेम्बरले संसदमा विचाराधिन आर्थिक विधेयकहरुलाई तत्काल पारित गर्न भूमिका खेल्न समेत आग्रह गरेको छ ।

सरकारले वैशाख तेस्रो साता अन्तर्राष्ट्रिय लगानी सम्मेलनको तयारी गरिरहँदा विदेशी लगानीका लागि कतिपय ऐन नियमहरू बाधक रहेकाले समयमै समस्या हल गर्न आग्रह गरेको छ ।

वर्तमान समयमा कालोबजार ऐन २०३२ का कतिपय प्रावधानहरु असान्दर्भिक भएकाले समय सापेक्ष सुधार गर्न पनि चेम्बरले आग्रह गरेको छ ।

स्थानीय स्रोतमा आधारित खनिजजन्य रत्नपत्थर, जडीबुटी एवम् वनजन्य उद्योगहरुमा आवश्यक कानुन बनाई निर्यात प्रवर्द्धन गरिनुपर्ने चेम्बरले उल्लेख गरेको छ ।

एकद्वार प्रणालीमा आधारित स्थायी संयन्त्र मार्फत बजार अनुगमन गरिनुपर्नेमा चेम्बरले जोड दिएको छ ।

चेम्बर अध्यक्ष मल्लले बजार अनुगमनका नाममा व्यवसायीले अनावश्यक दुःख पाइरहेको बताए । उनले उद्योगी व्यवसायीलाई पहिला सुन्ने अनि मात्रै कानुनी प्रक्रियामा जान पनि आग्रह गरेका छन् ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।