कांग्रेस सभापति देउवा निवास अगाडि भेटिएको शंकास्पद वस्तु निष्क्रिय पारियो
संघर्ष मिडिया डेस्क
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय बनाएको छ ।
नेपाली सेनाको तेघरी ब्यारेक अत्तरियाको बम डिस्पोजल टोलीले उक्त वस्तु निष्क्रिय पारेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्र बोहराका अनुसार शंकास्पद झोलाभित्र माटो र माटोमुनि एउटा भाँडो भेटिएको थियो । तर, उक्त वस्तु विस्फोटक भए–नभएको बारेमा भने खुलेको छैन ।
आज बिहान देउवा निवास अगाडि कालो रंगको पुरानो झोला फेला परेको थियो । त्यो झोला भित्रबाट तार बाहिर निस्किएको देखिएको थियो ।
स्थानीयले त्यो विस्फोटक पदार्थ पनि हुनसक्ने आशंकाले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले नेपाली सेनाको टोलीलाई बोलाएको थियो ।