एसईई परीक्षामा ७० प्रतिशतसम्म विद्यार्थी उत्तीर्ण हुनेगरी काम गरिरहेका छौं : प्रधानमन्त्री

संघर्ष मिडिया डेस्क

प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १० को आउँदो एसईई परीक्षामा ७० प्रतिशतसम्म विद्यार्थी उत्तीर्ण हुने गरी देशभर अनलाइनबाट शिक्षा सञ्चालन गर्ने बताएका छन्।

शुक्रबार काभ्रेको धुलिखेलमा काठमाडौं विश्वविद्यालयको २९ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले अङ्ग्रेजी, गणित, विज्ञानलगायत मुख्य विषयमा केन्द्र सरकारका तर्फबाट अनलाइनका माध्यमबाट विशेष कक्षा चलाउन सम्बन्धित निकायलाई निर्देशन गरिसकेको बताए ।

५० प्रतिशतको हाराहारीमा मात्रै एसईईमा उत्तीर्ण हुनु विद्यार्थीमाथिको चरम अन्याय भएको उनले बताए । बढी नम्बर दिएर नभई  विद्यार्थीले आफैं राम्रो लेखेर धेरै उत्तीर्ण गराउने गरी काम थालिसकेको उनले बताए । उनले सरकार देशको समृद्धि र समग्र शिक्षाको सुदृढीकरणका लागि आगामी दिनमा थप स्पष्ट र दृढताकासाथ अघि बढ्ने पनि स्पष्ट गरे ।

प्रधानमन्त्री ओलीले विश्वविद्यालयमा विभिन्न संकायमा दीक्षित विद्यार्थीलाई आफूले प्राप्त गरेको ज्ञान–सीपलाई सही सदुपयोग गर्न तथा समाजका लागि सुयोग्य नागरिक बन्न आग्रह गरे। समारोहमा विदेशी विद्यार्थीसहित दुई हजार तीन सय १४ विद्यार्थी दीक्षित भएका थिए ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।