बस्तिबस्तिबाट याेजना ल्याउन ब्यस्त वडा अध्यक्ष श्रेष्ठ

प्यूठान, असार ०३।
स्थानीय सरकार जनताको घरदैलोमै पुगेपछि नागरिकले सिंहदरबार आफ्नै बस्तिमा आएकाे अनुभूति गर्न थालेका छन्। प्यूठान काे प्यूठमन नगरपालिका –३ का वडा अध्यक्ष तथा नगर प्रवक्ता सुमन श्रेष्ठ आर्थिक वर्ष २०८३/०८४ का लागि योजना तर्जुमा गर्ने क्रममा स्वयं बस्ती–बस्ती पुगेर नागरिकका आवश्यकता, समस्या र सुझाव संकलन गर्न भ्याई नभ्याई व्यस्त छन्।
विगतमा फाट्टफुट्ट गाउगाउ पुग्ने प्राय कार्यालयमा बसेर योजना बनाउने अभ्यासलाई परिवर्तन गर्दै अध्यक्ष श्रेष्ठ आफु निर्बाचित भएपछि वडा भित्रका दुर्गम बस्ती, टोल र गाउँमा पुगेर स्थानीयसँग प्रत्यक्ष गुनासाे सुन्दै याेजना तर्जुमा गरिरहेका छन्। जनताले भोगिरहेका वास्तविक समस्या पहिचान गरी आवश्यकताका आधारमा योजना छनोट गर्ने उद्देश्यले सुरु गरिएको यो अभियानलाई सराेकारबाला ,वडाबासि र,स्थानीयवासीले सकारात्मक रूपमा लिएका छन्।
बुधबार बिहानै अध्यक्ष श्रेष्ठ वडा नं. ३ अन्तर्गत डाँडागाउँ, बतासेडाँडा लगायतका बस्तीमा पुगेका थिए। स्थानीयसँग भलाकुसारी गर्दै उनले खानेपानी, सडक, गोरेटो बाटो, सिँचाइ, मठमन्दिर संरक्षण, शिक्षा, स्वास्थ्य तथा कृषि उत्पादनसँग सम्बन्धित योजनाबारे सुझाव संकलन गरे।
स्थानीय अगुवा हिमबहादुर के.एम. ले डाँडागाउँको दीर्घकालीन खानेपानी समस्या समाधान, शिव मन्दिरको मर्मत–सम्भार तथा गोरेटो बाटो निर्माणलाई प्राथमिकतामा राख्न आग्रह गरे। त्यसैगरी विष्णुबहादुर के.एम. ले साढेखोला–डाँडागाउँ–सेफुङ सडकको स्तरवृद्धि आवश्यक रहेको बताए।
स्थानीय महिला कृष्णा के.एम. ले घाँस–दाउरा तथा दैनिक आवतजावतका लागि प्रयोग हुने जुम्री–डाँडागाउँ–रातामाटा गोरेटो बाटो निर्माण, मेथीखोला–डाँडागाउँ सडक निर्माण तथा चक्रेबाङ–डाँडागाउँ लिफ्ट खानेपानी योजनाको मर्मत–सम्भार गर्न माग गरिन्।

स्थानीयका सुझाव र मागलाई ध्यानपूर्वक सुनेपछि अध्यक्ष श्रेष्ठले आगामी आर्थिक वर्षमा सम्पन्न हुने गरी डाँडागाउँ खानेपानी योजना, शिव मन्दिर मर्मत–सम्भार तथा आवश्यक गोरेटो बाटो निर्माणलाई प्राथमिकतामा राखिने बताए। अन्य ठूला योजनाका लागि नगरपालिका, लुम्बिनी प्रदेश सरकार तथा संघीय सरकारसँग आवश्यक पहल गरिने उनको भनाइ छ।
डाँडागाउँस्थित कुमाल समुदायका स्थानीयले अध्यक्ष श्रेष्ठको नेतृत्वमा कार्यकालको सुरुआतमै १२० घरपरिवारलाई ग्यास चुलो वितरण गरिएको स्मरण गर्दै त्यसले वनमा दाउरा निर्भरता घटाउन सहयोग पुगेको बताएका छन्।
त्यसैगरी सापडाँडा, कुवापानी, मान्द्रेचौर, घुर्चौनी लगायतका बस्तीमा पुगेर पनि अध्यक्ष श्रेष्ठले स्थानीयका आवश्यकता संकलन गरेका छन्। ती क्षेत्रका नागरिकले खानेपानी, सडक, विद्यालय, गाउँघर क्लिनिक, सिँचाइ कुलो, प्रतिक्षालय तथा सीप विकाससम्बन्धी योजनालाई प्राथमिकता दिन आग्रह गरेका छन्।
स्थानीय बिना परियार ले लक्षित वर्गको जीविकोपार्जनसँग सम्बन्धित कार्यक्रम आवश्यक रहेको बताइन्। यस्तै रविन्द्र खड्का र सुरेश सुनार ले नियमित सञ्चालनमा रहेका सडकको स्तरवृद्धि, सार्वजनिक प्रतिक्षालय निर्माण, सिँचाइ कुलो तथा सीप विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राखे।
स्थानीयका माग सुनिसकेपछि अध्यक्ष श्रेष्ठले वडाको वार्षिक बजेट सिलिङ करिब ३२ लाख रुपैयाँ रहेको जानकारी दिँदै सीमित स्रोतसाधनलाई अधिकतम जनहितमा उपयोग गर्ने गरी योजना छनोट गरिने बताए।
उनले भने, “योजना बनाउँदा पहिले बस्ती–बस्ती पुगेर नागरिकका आवश्यकता बुझ्छौं। त्यसपछि टोल, गाउँ, राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा सरोकारवालासँग छलफल गरी सबैलाई समेट्ने गरी योजना तयार पार्छौं। त्यसपछि मात्रै नगरपालिकामा पेश गरिन्छ।”
स्थानीय तहको मूल मर्म भनेकै नागरिकको घरदैलोमै सेवा र विकास पुर्‍याउनु हो। वडा नं. ३ मा अध्यक्ष श्रेष्ठले अपनाएको सहभागितामूलक योजना तर्जुमा प्रक्रिया त्यसैको उदाहरण बनेको स्थानीयको भनाइ छ। कार्यालयको कुर्सीमा बसेर होइन, नागरिकका बीचमै पुगेर विकासका प्राथमिकता तय गर्ने अभ्यासले स्थानीय सरकारप्रति जनविश्वास बढाएको छ।

विकास निर्माणका योजना जनताको वास्तविक आवश्यकता अनुसार छनोट हुन थालेपछि वडा नं. ३ का बासिन्दाले गाउँमै सिंहदरबार आएको अनुभूति गरेका छन्। जनप्रतिनिधि स्वयं बस्तीमा पुगेर नागरिकका समस्या सुन्ने र समाधानको प्रतिबद्धता जनाउने अभ्यास अन्य स्थानीय तहका लागि समेत अनुकरणीय नमूनाका रूपमा हेरिएको समाजका अगुवाइहरुले बताउछन्

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।