प्यूठानि प्यार र नारायणीकाे अभिनयमा जन्मठाउ


प्यूठान, प्यूठानको कला र प्रतिभालाई समेटिएको लोकदोहोरी गीत ‘जन्म ठाउँ’ सार्वजनिक भएको छ। गीतको भिडियोमा राष्ट्रियस्तरमा चर्चित मोडल नारायणी खत्रीसँगै प्यूठानका सञ्चारकर्मी तथा व्यवसायी प्यार अलि खान देखिएका छन्।
खानका लागि यो दोस्रो म्युजिक भिडियो हो। पत्रकारिता र व्यवसायमा सक्रिय उनी यसपटक अभिनय मार्फत सांगीतिक भिडियोमा जोडिएका हुन्। मोडलिङ क्षेत्रमा राष्ट्रियस्तरमा पहिचान बनाएकी खत्री पनि प्यूठानकै हुन्।
नवगायक प्रविण घर्ती मगरको शब्द तथा संगीत रहेको गीतमा घर्ती मगर र गायिका सरिता सुनारको स्वर छ। जन्मभूमिप्रतिको माया, गाउँघरको सम्झना र आफ्नो ठाउँसँग जोडिएको आत्मीयतालाई गीतमा प्रस्तुत गरिएको छ।
प्यूठान नगरपालिका–६, माझकोटका स्थायी बासिन्दा घर्ती मगर नेपाली सेनाबाट अवकाश प्राप्त व्यक्ति हुन्। हाल काठमाडौंमा बस्दै आएका उनले सांगीतिक क्षेत्रमार्फत आफ्नो यात्रा अघि बढाइरहेका छन्।
गीतको भिडियो निर्देशन तथा कोरियोग्राफी प्यूठानकै मुकेश नेपालीले गरेका हुन्। राष्ट्रियस्तरमा व्यस्त नेपाली पछिल्लो समय म्युजिक भिडियोको निर्देशन तथा कोरियोग्राफीमा सक्रिय छन्। भिडियोको छायांकन बुद्ध थापाले गरेका छन् भने अजित राना मगरले ड्रोन अपरेसन र नवीन घर्ती मगरले सम्पादनको जिम्मेवारी सम्हालेका छन्। पोस्ट प्रोडक्सन एड्भेन्चर इन्टरटेनमेन्टले गरेको हो।
मूर्छुङ्गा डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ सञ्जय श्रीपालले गरेका छन्। गोविन्द ओली (रोपाली) र रमेश नेपालीले गीतको रेकर्डिङ गरेका हुन्।
‘प्रविण घर्ती मगर अफिसियल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतको विशेष पक्ष यसको निर्माणमा प्यूठानका कलाकार तथा प्राविधिकको सहभागिता पनि हो। गायिका सरिता सुनारबाहेक भिडियो निर्माणमा संलग्न कलाकार तथा प्राविधिक प्यूठानकै रहेको जनाइएको छ।
स्थानीय कलाकार तथा प्राविधिकको सहकार्यमा तयार भएको ‘जन्म ठाउँ’ ले प्यूठानको सांगीतिक प्रतिभालाई फराकिलो दर्शकमाझ पुर्‍याउने अपेक्षा गरिएको छ। गीतमार्फत जन्मभूमिप्रतिको भावनासँगै जिल्लाको कला, संस्कृति र धार्मिक तथा पर्यटकीय क्षेत्रको पहिचानलाई समेत उजागर गर्ने प्रयास गरिएको छ।https://youtu.be/E23xbN6-x6s?si=bGgceC_3NkZ4eHXn

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।