मुख्यमन्त्री द्वारा गाैमुखि १५ सैया अस्पताल उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा १५ शैयाको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा आएको छ । १९ करोड ३ लाख ४५ हजार पाँच सय ५२ रुपैयाँको लागतमा निर्माण भएको अस्पतालको शुक्रबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्नुभएको हो ।

अस्पतालको उद्घाटनसँगै स्वास्थ्य सेवा समेत सुरु भएको छ । अस्पताल सञ्चालनमा आएपछि गौमुखी गाउँपालिकाका नागरिकले आधारभूत स्वास्थ्य उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ । गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो ।समचार बिजयसिंह भारती।

उहाँले दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिकलाई सहज रूपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य पूर्वाधार निर्माण र सेवा विस्तारलाई प्राथमिकता दिइएको बताउनुभयो । अस्पतालको सेवा प्रभावकारी बनेसँगै स्थानीय नागरिकले आफ्नै गाउँमा स्वास्थ्य उपचार पाउने अवस्था सिर्जना हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री आचार्यले अस्पतालको भौतिक संरचना निर्माणसँगै आवश्यक जनशक्ति, स्वास्थ्य उपकरण र औषधिको पर्याप्त व्यवस्थापनमा ध्यान दिने बताउनुभयो । अस्पताललाई प्रभावकारी रूपमा सञ्चालन गरी नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण बनाउन प्रदेश सरकार र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो ।

‘डाक्टरहरूलाई सहरमुखी होइन, गाउँमुखी बनाउन हामीले ध्यान दिएका छौँ । सुगम ठाउँभन्दा पनि दुर्गम ठाउँलाई प्राथमिकतामा राखेर प्रदेश सरकार अघि बढिरहेको छ,’उहाँले भन्नुभयो,‘यस अस्पतालमा जनशक्तिको व्यवस्थापन गर्नेछौँ । डाक्टर र अन्य स्वास्थ्यकर्मी पनि पठाउनेछौँ ।’

मुख्यमन्त्री आचार्यले पछिल्लो समय ३५ वर्षका उपलब्धिलाई बिर्सिएर ‘केही भएन’ भन्ने गलत भाष्य निर्माण गर्न खोजिएको बताउनुभयो । उहाँले यस अवधिमा भएका उपलब्धिबारे सबै जानकार रहेको स्पष्ट पार्नुभयो ।‘जनताको सेवाका निम्ति हरेक सुखदुःखमा साथ दिँदै अघि बढेका छौँ । हामी राजनीतिक संस्कारबाट अघि बढीरहेका छौँ । हरेक क्षेत्रमा समन्वय र सहकार्य गरेर काम गरिरहेका छौँ,’उहाँले भन्नुभयो । उहाँले स्थानीय स्तरका साझा समस्या समाधान गर्नु सबैको सामूहिक जिम्मेवारी र कर्तव्य भएको बताउनुभयो । अधुरा तथा अपुरा आयोजनाको प्रदेश सरकारले अनुगमन गर्ने र आवश्यकताअनुसार समस्या समाधानका लागि पहल गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दीपेन्द्र पुनले आधारभूत अस्पतालको सेवा प्रवाह, जनशक्ति र उपकरण व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताउनुभयो । उहाँले अस्पताल सञ्चालनका क्रममा देखिएका समस्या समाधान गर्न संवेदनशील भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

प्यूठानका प्रमुख जिल्ला अधिकारी शान्तराज परसाईलगायतले अस्पतालबाट स्थानीय नागरिकले सहज र प्रभावकारी स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभएको थियो । अस्पताल सञ्चालनमा आएसँगै गौमुखी गाउँपालिका तथा आसपासका क्षेत्रका नागरिकलाई सामान्य स्वास्थ्य उपचार, स्वास्थ्य परीक्षण तथा आधारभूत उपचार सेवा स्थानीय तहमै उपलब्ध हुने स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद जैशीले जानकारी दिनुभयो । सो अवसरमा मुख्यमन्त्री आचार्यसमक्ष गाउँपालिकाका तर्फबाट अस्पतालका लागि आवश्यक जनशक्ति र उपकरणको प्रबन्ध गर्नेलगायत चारवटा विभिन्न आयोजनालाई प्राथमिकतामा राखी बजेट व्यवस्था गर्न माग गरिएको थियो ।

यसैगरी महेन्द्र माध्यमिक विद्यालय, पूजा, कोड्का, प्यूठानले विद्यालय भवन निर्माण पूरा गर्न आवश्यक बजेट प्राथमिकतामा राख्न मुख्यमन्त्रीसमक्ष अनुरोध गरेको थियो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।