प्यूठान प्रहरीको बार्षिक समिक्षा सार्वजनिक

​संंघर्ष मिडिया
प्युठान, १७ साउन ।
​जिल्ला प्रहरी कार्यालय प्युठानले गत आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा तथा प्रगति विवरण सार्वजनिक गरेको छ। कार्यालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक (प्रनाउ) नरहरी अधिकारीले जिल्लाको समग्र शान्ति सुरक्षा, अपराध नियन्त्रण र मुद्दा फर्छौटको स्थिति सार्वजनिक गर्नुभएको हो।

​सार्वजनिक विवरण अनुसार विगत पाँच वर्षको तुलनामा प्युठानमा आपराधिक घटना र मुद्दा दर्ताको संख्यामा निरन्तर वृद्धि भइरहेको देखिन्छ।
​मुद्दा दर्ता र फर्छौटको स्थिति
​गत आर्थिक वर्ष २०८२/०८३ मा जिल्लाभर कुल २७२ वटा मुद्दा दर्ता भएका छन्। जसमध्ये १४९ वटा मुद्दा फर्छौट भइसकेका छन् भने १२३ वटा मुद्दा फर्छौट हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
​दर्ता भएका प्रकृतिका आधारमा सबैभन्दा बढी आत्महत्याका ९१ वटा मुद्दा रहेका छन्। यसैगरी भवितव्य ज्यानका ४६, फुटकर ज्यानका १८, सवारी ज्यानका १७, जबरजस्ती करणीका १४, बैंकिङ कसुरका १२, कर्तव्य ज्यानका ८ र ज्यान मार्ने उद्योगका ७ वटा मुद्दा दर्ता भएका छन्।
​दर्ता भएका मुद्दामा कुल १६१ जना प्रतिवादी रहेकोमा प्रहरीले १५३ जनालाई पक्राउ गर्न सफल भएको छ भने ८ जना अझै फरार रहेका छन्।
​आत्महत्याको स्थिति चिन्ताजनक
​जिल्लामा आत्महत्याको दर तीव्र रूपमा बढ्दै गएको तथ्याङ्कले देखाएको छ। एकै वर्षमा ९१ जनाले आत्महत्या गरेका छन्।
​पालिकागत रूपमा हेर्दा सबैभन्दा बढी प्युठान नगरपालिकामा १९ जना, स्वर्गद्वारी नगरपालिका र मल्लरानी गाउँपालिकामा १५–१५ जनाले ज्यान गुमाएका छन्। आत्महत्या गर्नेहरूमध्ये ८५ जनाले झुण्डिएर, ४ जनाले विष सेवन गरी, १ जनाले हाम फालेर र १ जनाले आगो लगाएर आत्महत्या गरेको प्रनाउ अधिकारीले जानकारी दिनुभयो।
​फैसला कार्यान्वयन र फरार प्रतिवादी
​अदालतबाट भएका फैसला कार्यान्वयनतर्फ प्रहरीले ६० जना प्रतिवादीलाई पक्राउ गरी २२ वर्ष २ महिना २६ दिन कैद सजाय भुक्तानका लागि पठाएको छ। साथै रु. ६,२७,१८७ जरिवाना असुल गरिएको छ। जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार रहेका १८ जनामध्ये ९ जनालाई नियन्त्रणमा लिइसकिएको प्रहरीले जनाएको छ।
​विद्युतीय अपराध र ५६ लाख राजस्व संकलन
​विद्युतीय तथा आर्थिक अपराध सम्बन्धी परेका ४३ वटा निवेदनमध्ये १७ वटा फर्छौट भई ठगी भएको रु. २९ लाख ३९ हजारमध्ये रु. ११ लाख ९१ हजार ४८० रुपैयाँ पीडितलाई फिर्ता गराइएको छ। प्रहरीले अवैध रूपमा राखिएका ८० थान भरुवा बन्दुक र ३ थान पेस्तोलसमेत बरामद गरेको छ।
​गत वर्षभरिमा प्रहरीले विभिन्न कारबाहीबाट कुल रु. ५६ लाख ६० हजार १२२ राजस्व संकलन गरेको छ। जसमा सवारी कारबाही (३,९५९ वटा) बाट रु. ४४ लाख २७ हजार ५००, नदीजन्य पदार्थको अवैध उत्खननबाट रु. २ लाख ६ हजार र अवैध काठ तथा कपडा जफतबाट रु. २ लाख ५१ हजारभन्दा बढी राजस्व संकलन भएको छ।
​जनशक्ति अभाव
​१,३०९ वर्ग किलोमिटर क्षेत्रफल र २ लाख ३२ हजारभन्दा बढी जनसङ्ख्या रहेको प्युठानमा हाल ३४१ जना प्रहरी र १५ जना ट्राफिक प्रहरी कार्यरत छन्। जस अनुसार औसतमा १ जना प्रहरीले ६८१ जना नागरिकलाई सुरक्षा दिनुपर्ने बाध्यता रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ। 

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।