प्युठानमा नेपाल प्रहरी श्रीमती संघद्वारा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर, २०३ जनाले सेवा लिए
प्युठान, असार १२ । नेपाल प्रहरी श्रीमती संघको आयोजनामा प्युठानमा सञ्चालन गरिएको एकदिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट २०३ जनाले स्वास्थ्य सेवा लिएका छन्।
जिल्लाको प्युठान नगरपालिका–७ स्थित स्वर्गद्वारी बहुमुखी क्याम्पसको प्राङ्गणमा शुक्रबार सम्पन्न शिविरमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगञ्ज, बाँकेको विशेष सहयोग तथा निमतारा पोलिक्लिनिक प्रा.लि. बिजुवार, प्युठानको प्रयोगशाला (ल्याब) सहयोग रहेको थियो।
नेपाल प्रहरी श्रीमती संघ, लुम्बिनी प्रदेशकी अध्यक्ष पूजा खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्री प्रमुख अतिथि, प्युठान नगरपालिकाका नगर प्रमुख विष्णु योगी विशिष्ट अतिथि तथा प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईं विशेष अतिथि रहनुभएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रमुख, पत्रकार, सुरक्षा निकायका प्रमुख, प्रहरी कर्मचारी, पूर्व प्रहरी कर्मचारी, प्रहरी परिवारका सदस्य तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
शिविरमा लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगञ्जका प्रमुख प्रहरी उपरीक्षक डा. अच्यूत विक्रम हमालको नेतृत्वमा ११ सदस्यीय विशेषज्ञ चिकित्सक टोलीले स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्श तथा आवश्यक औषधि वितरण सेवा प्रदान गरेको थियो।
आयोजकका अनुसार शिविरबाट २०३ जना सेवाग्राही प्रत्यक्ष लाभान्वित भएका छन्। शिविरले प्रहरी परिवारसँगै स्थानीय सर्वसाधारणलाई विशेषज्ञ चिकित्सकीय सेवा गाउँमै उपलब्ध गराउँदै स्वास्थ्य पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।