स्वास्थ्य सुधारमा सबैको साझा जिम्मेवारी आवश्यक : नरेश बाबु श्रेष्ठ

स्वास्थ्य सुधारमा सबैको साझा जिम्मेवारी आवश्यक : नरेश बाबु श्रेष्ठ
नेपालगञ्ज, असार २०। “स्वस्थ नागरिक बिना समृद्ध समाजको परिकल्पना सम्भव छैन। उपचारभन्दा रोग लाग्नै नदिने जीवनशैली अपनाउनु आजको सबैभन्दा ठूलो आवश्यकता हो।” स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख नरेश बाबु श्रेष्ठले व्यक्त गर्नुभएको यो धारणा अहिले स्वास्थ्य क्षेत्रको बहसको केन्द्र बनेको छ।
बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्ने कार्यक्रममा सहभागी हुनुभएका श्रेष्ठले स्वास्थ्य क्षेत्रको दिगो सुधारका लागि सरकार, स्वास्थ्यकर्मी, स्थानीय तह, सञ्चारमाध्यम र समुदाय सबैको समान भूमिका आवश्यक रहेको बताउनुभयो। उहाँले स्वास्थ्य सेवाको प्रभावकारिता अस्पताल र औषधिमा मात्र सीमित नरहने उल्लेख गर्दै नागरिकको दैनिक खानपान, जीवनशैली र स्वास्थ्यप्रतिको सचेतनासँग प्रत्यक्ष सम्बन्ध रहेको स्पष्ट पार्नुभयो।

उहाँका अनुसार पछिल्ला वर्षहरूमा नसर्ने रोगहरू तीव्र रूपमा बढिरहेका छन्। मधुमेह, उच्च रक्तचाप, मुटुरोग, मिर्गौला रोग तथा क्यान्सरजस्ता समस्याको प्रमुख कारण अस्वस्थ जीवनशैली बन्दै गएको भन्दै उहाँले समयमै बानी परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। “स्वास्थ्य संस्था बिरामीको उपचार गर्ने ठाउँ मात्र होइन, स्वस्थ जीवनशैली सिकाउने केन्द्र पनि बन्नुपर्छ,” उहाँले भन्नुभयो।

श्रेष्ठले बालबालिकालाई समयमै सबै खोप लगाउनु प्रत्येक अभिभावकको पहिलो दायित्व भएको उल्लेख गर्नुभयो। पूर्ण खोप सुनिश्चितता घोषणा एउटा उपलब्धि भए पनि त्यसलाई निरन्तर कायम राख्नु अझ ठूलो जिम्मेवारी भएको उहाँको भनाइ थियो। प्रत्येक नवजात शिशुले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गतका सबै खोप समयमै पाउने वातावरण बनाउन सबै पक्ष एकजुट हुनुपर्ने उहाँले बताउनुभयो।
उहाँले कोभिड–१९ महामारीको अनुभव स्मरण गर्दै संकटका बेला राज्यका सबै निकाय, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा स्थानीय समुदायबीचको सहकार्यले मात्रै ठूलो चुनौती सामना गर्न सम्भव भएको उल्लेख गर्नुभयो। महामारीका कठिन दिनमा अग्रपंक्तिमा रहेर स्वास्थ्य सेवा प्रवाह गर्नुका साथै खोप अभियानलाई प्रभावकारी बनाउन उहाँले निर्वाह गर्नुभएको भूमिकाको उच्च मूल्यांकन गर्दै विभिन्न अवसरमा सम्मानसमेत गरिएको छ।

हाल स्वास्थ्य कार्यालय प्यूठानको नेतृत्व सम्हालिरहनुभएका श्रेष्ठले जिल्लामा स्वास्थ्य सेवाको पहुँच विस्तार, नियमित खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयन, मातृ तथा शिशु स्वास्थ्य, पोषण सुधार, नसर्ने रोग नियन्त्रण तथा स्वास्थ्य सचेतना अभिवृद्धिलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो। स्वास्थ्य सेवा प्रभावकारी बनाउन स्थानीय तहसँगको समन्वयलाई थप मजबुत बनाइएको उहाँले संघर्ष मिडिया लाई जानकारी दिनुभयो।

उहाँका अनुसार स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन पूर्वाधार र जनशक्तिको व्यवस्थापनसँगै नागरिकको व्यवहार परिवर्तन पनि उत्तिकै आवश्यक छ। “हामीले खाने खाना, गर्ने शारीरिक गतिविधि, पर्याप्त आराम, नियमित स्वास्थ्य परीक्षण र सरसफाइका बानीले धेरै रोगबाट बच्न सकिन्छ,” उहाँले भन्नुभयो।
कार्यक्रममा सहभागी स्वास्थ्यकर्मीहरूले पनि पूर्ण खोप सुनिश्चितता अभियानलाई सफल बनाउन स्थानीय तह, महिला स्वास्थ्य स्वयंसेविका, समुदाय र अभिभावकको भूमिका उल्लेखनीय रहेको बताएका थिए। उनीहरूले आगामी दिनमा पनि कुनै पनि बालबालिका खोपबाट वञ्चित नहुने वातावरण निर्माण गर्न निरन्तर अभियान सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।
स्वास्थ्य विज्ञहरूका अनुसार उपचारमुखीभन्दा रोकथाममुखी स्वास्थ्य प्रणालीलाई बलियो बनाउन सके मात्र स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सुधार सम्भव हुन्छ। यही सन्देशलाई व्यवहारमा उतार्न नरेश बाबु श्रेष्ठले सबै पक्षलाई हातेमालो गर्दै अघि बढ्न आह्वान गर्नुभएको छ। उहाँका अनुसार स्वस्थ समाज निर्माणको आधार अस्पताल होइन, सचेत नागरिक र स्वस्थ जीवनशैली हो।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।