नेप्से परिसूचक ११३ अंकले बढ्यो, १५ अर्ब ८१ करोडको कारोबार
साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक ११३.४२ अंकले बढेर २६८१.५६ विन्दुमा पुगेको छ। बजार खुलेको पहिलो १ मिनेट ३० सिकेण्डमा नै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि सर्किट लागेर २० मिनेटका लागि सेयर कारोबार बन्द भएको थियो।
त्यसपछि दोस्रो कारोबार सुरू भएलगत्तै दोस्रो सर्किट ब्रेक लागेपछि ४० मिनेटका लागि कारोबार बन्द भएको हो। दोस्रो सर्किट लाग्दा नेप्से परिसूचक १२९.०७ अंकले बढेर २६९१.२१ विन्दुमा पुगेको थियो।
दोस्रो सर्किटपछि सम्हालिएको सेयर बजारमा ३१८ स्क्रिप्सको ४ करोड ३ लाख १४ हजार ५१७ कित्ता सेयर १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार २३५ रुपैयाँमा खरिद बिक्री भए।
सेन्सेटिभ इण्डेक्स ५.८२ प्रतिशतले बढेर ४८६.८४ विन्दुमा पुगेको छ। उच्च अंकले बढेको सेयर बजारमा २२ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
यसदिन गणपति लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर ९.३५ प्रतिशतले घट्यो।
कारोबारमा आएका १४८ स्टकको मूल्य बढ्दा ८७ वटाको घट्यो। यसदिन ८ वटा स्टकको मूल्य पनि स्थिर रह्यो। ३६ करोड बढी मूल्यको सेयर कारोबार गरी कुमारी बैंक शीर्ष स्थानमा रह्यो। यसैगरी एसआईसी एसिया बैंकले ३४ करोड,हिमालयन रिइन्स्योरेन्स र शिवम् सिमेन्टले ३२/३२ करोडको सेयर कारोबार गरे।
हाथवे इन्भेष्टमेन्टको २७ करोड मूल्य बराबरको सेयर कारोबार भयो। यसदिन माइक्रोफाइनान्सबाहेक अन्य समूहको उपसूचक सकारात्मक देखिएका छन्। बैंकिङ समूहको उपसूचक सर्वाधिक ९.८९ प्रतिशतले बढ्यो।
अन्नपूर्ण पोष्टबाट साभार