थाइराइड गडबडी कसलाई हुन्छ ?

संघर्ष मिडिया डेस्क

हरेक १० मध्ये एक जना थाइराइडको समस्याबाट पीडित रहने विश्व स्वास्थ्य संगठनको तथ्यांकले बताउँछ । तर विडम्बना के छ भने थाइराइड गडबडी भएका करिब एक तिहाइ मानिसलाई आफू पीडित रहेको कुरा थाहा नै हुँदैन ।

थाइराइड गडबडीबारे बुझ्न थाइराइड सम्बन्धी यी प्रश्न र तिनको उत्तर जान्नु आवश्यक छ ।

थाइराइड ग्रन्थी के हो ?

थाइराइड ग्रन्थी घाँटीको अघिल्लो भागमा पुतलीको आकारको हुन्छ । जसले थाइराइड हर्मोन उत्पादन गर्छ । थाइराइड ग्रन्थीलाई पनि नियन्त्रण गर्ने अर्को ग्रन्थी मस्तिष्कमा हुन्छ, जसलाई ‘पिट्युटरी ग्रन्थी ’ भनिन्छ ।

पिट्युटरी ग्रन्थीको नियन्त्रणमा रहेर थाइराइड ग्रन्थीले थाइराइड हर्मोन उत्पादन गर्छ । पिट्युटरीबाट आउने ‘थाइराइड स्टिमुलेटिङ हर्मोन (टीएसएच)’ का कारण थाइराइड ग्रन्थीले ट्राइआयोडोथाइरोनिन अर्थात् ‘टी–थ्री’ र थाइरोक्सिन अर्थात् ‘टी–फोर’ नामक हर्मोन उत्पादन गर्छ ।

यी हर्मोनले मुटु, मस्तिष्क र शरीरका अन्य अंगलाई राम्रोसँग काम गर्न मद्दत गर्छ । यसले शरीरलाई ऊर्जा प्रयोग गर्न सक्षम बनाउँछ । र, शरीरलाई पनि न्यानो राख्छ ।

एक हिसाबले हेर्ने हो भने यो ग्रन्थीले शरीरमा कुनै उपकरणले ब्याट्री हालेपछि काम गर्ने जस्तै काम गर्छ । यदि यो ग्रन्थीबाट कुनै कारणवश थाइराइड हर्मोन बढी भयो वा कम भयो भने थाइराइडमा समस्या भएको बुझिन्छ ।

थाइराइड गडबडी कति प्रकारका हुन्छन् ?

थाइराइड गडबडी हाइपो थाइराइडिजम र हाइपर थाइराइडिज्म गरी दुई प्रकारका हुन्छन् ।

हाइपो थाराइडिजम

यदि थाइराइड ग्रन्थीले शरीरका लागि पर्याप्त हर्मोन उत्पादन गर्दैन भने त्यसले शरीरमा असर पार्छ । यो अवस्थालाई ‘हाइपो–थाइराइडिजम’ भनिन्छ ।

यस्तो अवस्थामा शरीर पहिलेको जस्तो सक्रिय रहँदैन । र, व्यक्ति पहिलेको भन्दा चाँडै थकित हुन्छन् ।

हाइपर थाइराइडिजम

यदि यो ग्रन्थीले आवश्यकता भन्दा बढी हर्मोन उत्पादन गर्न थाल्छ भने यो समस्यालाई ‘हाइपर थाइराइडिजम’ भनिन्छ ।

तेस्रो अवस्था भनेको थाइराइड ग्रन्थी सुन्नु हो, जसलाई गोइटर भनिन्छ । यो अवस्थामा औषधिले निको भएन भने शल्यक्रिया गरेर निको पार्नुपर्ने हुनसक्छ ।

के कारणले थाइराइडको समस्या देखिन्छ ?

मानिसको शरीरमा ‘अटो इम्युन’का कारण थाइराइड सम्बन्धी रोग लाग्ने हुन्छ । कुनै रोगका कारण शरीरमा एन्टीबडी उत्पन्न हुन्छ । त्यसले थाइराइड ग्रन्थीलाई प्रभाव पार्छ । शरीरले थाइराइड सम्बन्धी रोगसँग प्रतिरोध नै गर्न सक्दैन ।

त्यसले गर्दा हर्मोनहरू कि ज्यादा उत्पादन हुन्छन् कि निकै कम उत्पादन हुन्छन् । यसैले ‘अटो इम्युन डिजिज’का विभिन्न प्रकारमध्ये थाइराइड सम्बन्धी रोगलाई पनि यसमा राखिएको हुन्छ ।

हाइपो थाइराइडिजमका लक्षण

तौल बढ्नु, अनुहार, खुट्टा सुन्निने, कमजोरी हुनु, अल्छी लाग्नु, भोक नलाग्न्, अत्याधिक निद्रा लाग्नु, धेरै चिसो महसुस हुनु, महिलाको महिनावारी परिवर्तन हुनु, कपाल झर्नु, गर्भधारणमा समस्या हुनु हाइपो थाइराइडिजमका लक्षण हुन् ।

हाइपर थाइराइडिजमका लक्षण चाहिं कस्ता हुन्छन् ?

यसले आवश्यकताभन्दा बढी हर्मोन उत्पादन गर्ने भएकाले भोक लाग्ने, पर्याप्त खाना खाँदा पनि वजन घट्ने र पखाला लाग्ने गर्छ । बेचैनी हुने, हातखुट्टा काँप्ने र अरुलाई भन्दा बढी गर्मी अनुभव हुने समस्या पनि हाइपर थाइराइडिजममा देखिन्छन् ।

यस्तै मुड स्वीङ, अनिद्रा, मुटुको चालमा उतारचढाव आउने र आँखाको ज्योति समेत कमजोर हुने गर्छ ।

थाइराइड गडबडी पत्ता लगाउन कुन परीक्षण ?

थाइराइड ग्रन्थीले ठीकसँग काम गरिरहेको छ कि छैन भनी थाहा पाउन थाइराइड प्रोफाइल परीक्षण गरिन्छ । यसको मद्दतले रगतमा टी-३, टी-४ टीएसएच जस्तो हर्मोनको स्तरको मूल्याङ्कन गरिन्छ । कतिपय अवस्थामा टी-४ र टीएसएच एकैपटक गरिन्छ ।

थाइराइड समस्या कति बेला घातक हुनसक्छ ?

यो समस्यालाई समयमै पहिचान गरी उपचार भए सजिलै नियन्त्रण गर्न सकिन्छ । यदि यी दुवै थाइराइड समस्यालाई समयमै पहिचान गर्न सकिएन भने कहिलेकाहीं यो घातक पनि हुनसक्छ ।

यो समस्याको उपचार नभएमा कहिलेकाहीं मस्तिष्कमा समेत समस्या आउन सक्छ ।

साथै हाइपर थाइराइडिजमका कारण मुटुको धड्कन बढ्ने र घट्ने गर्छ, जसले मुटुसम्बन्धी रोग निम्त्याउन सक्छ ।

हाइपो थाइरोइडिजम भएमा सोडियमको मात्रा घट्दा बिरामी कोमामा जान सक्छ । बच्चा जन्मिएपछि यो समस्या पहिचान भएन भने उनीहरुको मानसिक विकास रोकिन सक्छ । उनीहरुको स्मरण शक्ति कम हुन सक्छ ।

गर्भावस्था किन देखिन्छ थाइराइड गडबडी ?

कतिपयलाई गर्भावस्थाको समयमा हाइपोथाइराइडिजम हुनसक्छ । यस अवस्थामा थाइराइडको लक्षण देखिंदैन तर गर्भावस्थाको समयमा टीएसएचको स्तर बढ्छ ।

त्यसैले यो समयमा थाइराइडको परीक्षण हुन्छ । थाइराइड भएमा त्यसलाई नियन्त्रण गर्न औषधि चलाउनुपर्ने हुन्छ । यो नियन्त्रणमा छैन भने गर्भपातको सम्भावना हुन्छ ।

यसको उपचार भएमा निको हुन्छ ?

यो समस्या पूर्ण रुपले निको हुँदैन, नियन्त्रण मात्र हुन्छ । नियन्त्रणका लागि चिकित्सकको निगरानीमा रही औषधि सेवन गर्नुपर्छ । औषधिसँगै सन्तुलित खानेकुरा खाने, सक्रिय रहने र जंकफुड कम खाने गरेमा थाइराइड नियन्त्रणमा रहन्छ ।

कतिपयले यो समस्याबाट मुक्त हुन मुख बारेर आवश्यक पोषण समेत पाइरहेका हुँदैनन् । यो समस्यामा खानै नहुने खानेकुरा भन्ने छैन ।

थाइराइड हर्मोनलाई स्वस्थ राख्न आयोडिन चाहिन्छ । त्यसको परिपूर्ति त दैनिक खाइने नुनबाट भइरहेको हुन्छ । साथै थाइराइड हर्मोनका लागि ‘सिलेनियम’ पनि महत्त्वपूर्ण हुन्छ, जुन च्याउ, प्याज, लसुन, अण्डा, ओखर, सूर्यमुखीको बीउ लगायतबाट पाउन सकिन्छ ।

थाइराइड हर्मोनलाई नियन्त्रणमा राख्न ‘जिङ्क’, ‘भिटामिन डी’, ‘भिटामिन बी-१२’ लगायत विभिन्न प्रकारका भिटामिन मिनरल्स पाइने खानेकुरा अन्न, दाल, दूधजन्य खानेकुरा, माछा, अण्डा, च्याउ, ओखर, बदाम, नट्स, फलफूल, ग्रिन टी लगायत खानेकुरा खान सकिन्छ । यस्ता खानेकुराले शरीरमा मेटाबोलिजमको मात्रालाई नियमित गर्न समेत सहयोग पुर्‍याउँछ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।