उपभोक्ताकाे हितका लागि छड्के बजार अनुगमन
छड्के बजार अनुगमन अनुगमनको क्रममा भेटिए म्याद गुज्रिएका खाद्यान्न सामग्री।
चाडपर्व नजिकिएसँगै उपभोक्ताको हितलाई मध्यनजर राख्दै जिल्लाकाे प्युठान नगरपालिकाले प्युठानका मुख्य व्यापारिक केन्द्रहरूमा रहेका खाद्यान्न पसल, मासु पसल, होटल तथा किराना पसलहरूमा छड्के बजार अनुगमन गर्न थालेको छ।
आज प्युठान नगरपालिकाका नगर प्रमुख विष्णुबहादुर योगी र नगर उपप्रमुख देवेन्द्र बर्माको नेतृत्वमा प्युठानको जुम्री बजारमा रहेका किराना खाद्यान्न पसलहरू , होटल तथा रेस्टुरेन्टहरूमा छड्के बजार अनुगमन गरिएको हो। जिल्ला प्रशासन कार्यालय प्युठानका प्रतिनिधि, प्युठान नगरपालिका विषयगत शाखाका प्रमुखहरु ,प्युठान उद्योग वाणिज्य सङ्घ प्युठान, इलाका प्रहरी कार्यालय बिजुवार र नेपाल पत्रकार महासंघका प्रतिनिधिसहितको टोलीले आज दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्म गरिएको अनुगमनको क्रममा हजारौँ रुपैयाँका खाद्यान्न सामग्री जङ्कफुट पिए पदार्थ लगायतकाे म्याद नाघेका भेटिएको नगर उपप्रमुख देवेन्द्र वर्माले बताउनुभयो।
म्याद नाघेका खाद्यान्न सामग्रीहरू तथा बरामद गरिएका अखाद्य सामग्रीहरू प्रहरीको रोहोबरमा प्युठान नगरपालिकाको स्टोरमा राखी भोलि बिहान मुजुल्का उठाई नष्ट गरिने उपप्रमुख बर्माले बताउनुभयो।
अनुगमनको क्रममा बजार क्षेत्रहरूमा सञ्चालन भइरहेका विभिन्न उद्योग व्यवसायहरू सम्बन्धित निकायहरूमा दर्ता गरेको वा नगरेको राजस्व तिरे नतिरेको दर्ता नवीकरण भए वा नभएको व्यवसायीका कागजातहरू पनि चेकजाँच गरिएको नगर प्रमुख विष्णुबहादुर योगीले बताउनुभयो। नगरपालिकाले असोज मसन्तभित्र नवीकरण गर्नेहरूका लागि १०% छुट दिएको बताउँदै नगरप्रमुख योगीले व्यवसायीहरूलाई समयमै आफ्नो व्यवसाय नवीकरण गर्न र व्यवसाय दर्ता नगरी सञ्चालन गरेका व्यवसायीहरुलाई सम्बन्धित निकायहरूमा तत्काल दर्ता गर्नुहुन सल्लाह सुझाव दिएको बताउनुभयो।