प्यूठान अस्पतालको निर्माणले फेरि पकड लिँदै, अध्यक्ष बस्सेलको सक्रियतामा ठेकेदार पुनः सम्पर्कमा
प्यूठान, जेठ ३१ — लामो समयदेखि निर्माणाधीन अवस्थामा अलपत्र पारिएको प्यूठान अस्पताल भवनको निर्माण कार्यमा फेरि तिव्रता आएको छ। निर्माण कार्य आठ महिनादेखि रोकिएको अवस्थामा अस्पताल विकास समितिका अध्यक्ष कृष्ण प्रसाद बस्सेलको पहल र सक्रियताले ठेकेदार कम्पनी पुनः सम्पर्कमा आएको हो।

अध्यक्ष बस्सेलले बारम्बार ताकेता, समन्वय, छलफल र सहकार्यको माध्यमबाट ठेकेदार कम्पनीसँग सम्पर्क कायम गरेका थिए। अन्ततः विशेष बैठक र आपसी प्रतिबद्धतापछि पुनः निर्माण कार्य सुचारु भएको हो। उनले जानकारी गराएअनुसार, अब निर्माण कार्यले गती लिएको छ र तोकिएको समयमै भवन सम्पन्न हुनेमा आशावादी छन्।
“अब अस्पताल बन्नैपर्छ, जुनसुकै परिस्थिति आए पनि यो निर्माण सम्पन्न गरेरै छाडिन्छ,” अध्यक्ष बस्सेलले दृढता व्यक्त गरे। उनले आपतकालीन अवस्था वा अन्य विविध समस्यालाई मध्यनजर गर्दै आवश्यक परेमा स्वयंसेवी सेवा दिनसमेत आफू र अस्पताल विकास समिति तयार रहेको जानकारी दिए।

उनका अनुसार, आवश्यक परेमा अस्पताल विकास समितिको जनशक्ति परिचालन गरिनेछ भने स्थानीय युवा स्वयंसेवकलाई समेत सक्रिय बनाइनेछ। “हामी अस्पताल बनाउन र सेवा सञ्चालन गर्न जस्तोसुकै सहयोगका लागि तयार छौँ,” उनले भने।
युवा पुस्ताको विश्वासको केन्द्रका रूपमा स्थापित भएका बस्सेल विकास समितिको अध्यक्ष भएयता अस्पतालमै खटिएर डाक्टर, प्रशासन र बिरामीसँग समन्वय गर्दै आएका छन्। उनकी सक्रियता र निरन्तर निगरानीका कारण अस्पताल निर्माण कार्यमा पुनः गती आएको हो।
सार्वजनिक स्वास्थ्य सेवामा सुधार ल्याउने उद्देश्यसहित अघि बढाइएको अस्पतालको भवन निर्माण कार्य सम्पन्न भएसँगै जिल्ला स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा सञ्चालन हुने अपेक्षा गरिएको छ।

