रुकुम पूर्वको भूमे गाउँपालिका पूर्ण खोप सुनिश्चितता घाेषणा

  रुकुम पूर्व, २०८ जेठ २४

रुकुम पूर्वको भूमे गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषित भएको छ।

१५ देखि २३ महिनासम्मका १,०६६ जना बालबालिकाले सम्पूर्ण नियमित खोप सेवा प्राप्त गरेपछि उक्त उपलब्धि हासिल गरिएको हो।

स्वास्थ्य कार्यालय रुकुम पूर्वका प्रमुख पुस्कल प्रसाद श्रेष्ठका अनुसार, जिल्लाका तीन स्थानीय तहमध्ये भूमे पनि अब पूर्ण खोप सुनिश्चितता तथा दिगोपनामा पुग्न सफल भएको हो।

घोषणा कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र पालिकाको समन्वित प्रयासले यो सम्भव भएको बताउनुभयो।

उपाध्यक्ष सबिना बुढा मगरले खोप सुनिश्चितता सामाजिक न्यायसँग प्रत्यक्ष जोडिएको भन्दै, महिला र बालबालिकाको स्वास्थ्यमा पालिका विशेष सतर्क रहेको जानकारी दिनुभयो।

स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक उपेन्द्र यादवका अनुसार, पालिकामा स्वास्थ्य चौकीको संख्या ४ बाट बढाएर १४ पुर्‍याइएको छ। सबै वडामा वर्थिङ सेन्टर स्थापना गरिएको र स्वास्थ्यकर्मी २४ सै घण्टा खटिएको बताउनुभयो।

कार्यक्रममा वडाध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत देविलाल विक, खोप समन्वय समिति संयोजक, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्वास्थ्य कार्यालयका अधिकारीहरूको उपस्थिति थियो।

 

 

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।