नौबहिनी गाउँपालिकाले सार्वजनिक गर्यो ६९ करोडको समावेशी बजेट, युवादेखि वृद्धसम्म लक्षित

प्युठान — नौबहिनी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ६९ करोड ७८ लाख ५१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँसभाको १८औं अधिवेशनमार्फत उपाध्यक्ष विष्णा थापाले प्रस्तुत गरेको बजेटमा कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र स्थानीय उत्पादनको बजार प्रवर्द्धनमा विशेष प्राथमिकता दिइएको छ।

बजेटले विशेषगरी विदेशबाट फर्किएका युवालाई कृषिमा आकर्षित गर्न ‘कृषि उद्यम विकास कार्यक्रम’, ‘रैथाने बाली प्रवर्द्धन’, ‘फलफूल खेती विस्तार’ र ‘उन्नत नश्लका गाई वितरण’ कार्यक्रम अघि सारेको छ। सुत्केरी स्याहारका लागि समेत छुट्टै कार्यक्रम बजेटमा समावेश गरिएको छ।

स्वास्थ्य क्षेत्रमा मोतिबिन्दु शल्यक्रियाको निःशुल्क सेवा, मोबाइल स्वास्थ्य सेवा सञ्चालन, किशोर-किशोरी लक्षित कार्यक्रम र विद्यालयस्तरीय स्वास्थ्य शिक्षा कार्यक्रम लागू गरिनेछ।

शिक्षामा मगर भाषाको पाठ्यक्रम निर्माण गरिनेछ भने सञ्चारकर्मीको क्षमता अभिवृद्धि र स्थानीय सञ्चारमाध्यमको प्रवर्द्धनमा पनि लगानी गरिनेछ।

बजेटले सामाजिक समावेशीतालाई पनि प्राथमिकता दिएको छ। बालबालिका, महिला, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकका लागि लक्षित कार्यक्रमहरु समावेश गरिएका छन्। समाजको पछाडि पारिएका दलित, जनजाति, अपाङ्ग, वृद्ध र महिला वर्गलाई विकासको मूलधारमा ल्याउने योजनासहित विभिन्न कार्यक्रम प्रस्ताव गरिएको छ।

पूर्वाधार विकासतर्फ जर्जर सडकको सुधार, अधुरा विद्यालय भवनको सम्पन्नता, प्रमुख तथा शाखा सडकहरुको मर्मत तथा बजार क्षेत्रका सडकमा विद्युत् बत्ती जडानको काम पनि यो वर्ष सम्पन्न गरिने गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले प्रस्तुत गरेको यो बजेट समावेशी, सन्तुलित र आवश्यकता आधारित देखिन्छ, जसले बहुसांस्कृतिक समुदायलाई सम्बोधन गर्दै स्थानीय विकासलाई नयाँ गती दिने अपेक्षा गरिएकाे छ।

 

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।