प्यूठानमा SEE-2081 को नतिजा सार्वजनिक, नियमित तर्फ ४८.८५ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण
प्युठान — जिल्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) 2081 को प्रारम्भिक नतिजा सार्वजनिक भएको छ। जिल्ला शिक्षा विकास समन्वय इकाइ प्यूठानका अनुसार नियमित तर्फ ४८.८५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

शुक्रवार साँझ सार्वजनिक गरिएको प्रारम्भिक तथ्याङ्क अनुसार यस पटकको नतिजा अघिल्ला वर्षभन्दा निकै राम्रो देखिएको छ। गत वर्ष १२.२७ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका थिए भने यसपटक सो अनुपात चार गुणा बढी देखिएको हो।
यस वर्ष नियमित तर्फ ३ हजार ४६९ जना परीक्षार्थी सहभागी भएका थिए।
त्यस्तै, ग्रेडवृद्धि (साधारण) तर्फ १ हजार २३६ जना, प्राविधिक धारमा १९६ जना र प्राविधिक ग्रेडवृद्धिमा १९ जना सहभागी थिए।
२०७८/०७९ सालका ब्याज परीक्षा दिने विद्यार्थीको संख्या भने २० जना रहेको समन्वय इकाइले जनाएको छ।
जिल्ला शिक्षा विकास समन्वय इकाइका प्रमुखका अनुसार यस वर्षको नतिजा अघिल्लो वर्षको तुलनामा सुधारोन्मुख देखिएको भएपनि अझै गुणस्तरीय शिक्षाको पहुँच र समावेशिता विस्तारमा ध्यान दिनुपर्ने देखिन्छ।
