चेतनाको उज्यालो: झिमरुकका विद्यालयमा न्यायिक सचेतनाको प्रभावकारी यात्रा”

झिमरुक, प्यूठान – असार १६
“ठूलो भवन होइन, ठूलो सोच नै विकास हो” — झिमरुक गाउँपालिकाको न्यायिक समितिका संयोजक प्रमोद पोखरेलको यो भनाइले पछिल्ला दिनमा गाउँका विद्यालयहरूमा गहिरो प्रभाव छाडेको छ।
जेठ ८ गते बालशिक्षा माविबाट सुरु गरिएको न्यायिक सचेतना तथा कानुनी शिक्षा अभियान असार १५ गते जनता मावि, टिमुरचौरमा भव्य रूपमा सम्पन्न भएको हो।


गौमुखी बहुमुखी क्याम्पस मच्छि, सीता मावि कुता सर्वोदय मावि गडेर पानी , बलभद्र मावि बादिकाेट अमरसिंह मावि सौंतामारे, लक्ष्मी मावि बाङ्गेमरोट, जनता मावि नेटा, सत्य मावि तुसारा,   चिरायु मा बि चिसावाङ, प्रभात मावि आहालखोला र अन्ततः जनता मावि टिमुरचौर गरी १२ वटा सामुदायिक  बिधालय र १ वटा क्याम्पसमा संचालन गरिएको हाे।
कार्यक्रमबाट झण्डै १५०० जना विद्यार्थी, शिक्षक तथा अभिभावक लाभान्वित भएका छन्।
कक्षा ९, १०, ११ र १२ का विद्यार्थीहरूलाई प्राथमिकता दिइएको थियो भने केही विद्यालयमा कक्षा ८ का विद्यार्थी पनि सहभागी थिए।


कार्यक्रमले स्थानीय सरकारको संरचना, न्यायिक समितिको कार्यक्षेत्र, मेलमिलाप प्रणाली, बालविवाह निवारण, लागूपदार्थ नियन्त्रण, साइबर सुरक्षा जस्ता व्यावहारिक विषयमा कानुनी साक्षरताको सन्देश दिएको छ।
सरकारी वकिल, प्रहरी अधिकृत, कानुनी सल्लाहकार र प्राध्यापकहरूको सहभागिता कार्यक्रमको गहिराइ सम्म पुगेर पुगेर प्रशिक्षण दिएका हुन।
सहभागी विद्यार्थीहरूलाई १५० रुपैयाँ खाजा खर्च, डायरी र कलम समेत वितरण गरिएको थियो।
बालशिक्षा माविका प्र.अ. रिषिराम पोखरेल: “कार्यक्रम अत्यन्त प्रभावकारी थियो, विद्यार्थीको सोचमा परिवर्तन देखिएको छ।”
बलभद्र माविका प्र.अ. शेरबहादुर थापा: “विद्यार्थीहरूमा आत्मविश्वास र अनुशासन बढेको छ, यस्तो कार्यक्रम नियमित चल्नुपर्छ।”
सर्वोदय माविका प्र.अ. लालबहादुर एमसी: “विद्यार्थी समाज परिवर्तनका संवाहक हुन्, चेतनामा सकारात्मक असर परेको छ।”
जनता मावि टिमुरचौरका प्र.अ. बिजयसागर गिरी: “पढाइसँग जीवन उपयोगी ज्ञानको समिश्रणले दीर्घकालीन प्रभाव पार्नेछ।”
सहभागी विद्यार्थीहरू सचिन जिसी, विपना एमसी, उर्मिला पोखरेलले यो कार्यक्रमले आफूहरूलाई आत्मविश्वासी बनाएको भन्दै “फेरि पनि यस्तै कार्यक्रम गरिनुपर्छ” भन्ने माग गरेका छन्।


वडा नं. ८ का अध्यक्ष तुलस बस्नेतले भने,“सकारात्मक परिवर्तन सबैलाई रुच्दैन, आलोचना पनि हुन्छ। तर हामी झिमरुकको चेतना र समृद्धिका लागि अडिग छौं।”
संयोजक प्रमोद पोखरेलले भने“सडक र भवन मात्रै विकास होइन। सोचमा परिवर्तन ल्याउनु नै साँचो विकास हो। कानुनी शिक्षा विद्यार्थी स्तरमै आवश्यक छ।”
सहायक अधिकृत यामलाल पोखरेलका अनुसार, गाउँपालिकाले अगामी वर्षको कार्ययोजनामा पनि कार्यक्रमलाई समेटेको छ। साथै, प्रत्येक विद्यालयमा बिहानको प्रार्थना समयमा ‘न्याय र पालिकाको भूमिका’ सम्बन्धी सन्देश दिने तयारी भइरहेको छ।
कार्यक्रमका विविध पक्षहरू अन्तरक्रिया, दृश्य, प्रतिक्रिया आदि समेटेर वृत्तचित्र निर्माणको काम अगाडि बढाइएको संयोजक पोखरेलले जानकारी दिए।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।