उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान
असार २५
झिमरुक प्यूठान

झिमरुक गाउँपालिकामा माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई नेपाली कांग्रेस प्यूठानका सह–सचिव तथा झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोखरेलले नगदसहित सम्मान गरेका छन्।
पोखरेलले प्रत्येक विद्यार्थीलाई नगद ४ हजार रुपैयाँ, सम्मानपत्र र खादाले सम्मान गर्दै उज्वल भविष्यको शुभकामना व्यक्त गरे।
सम्मानित विद्यार्थीहरूमा
सुजल जिसी – सत्य मा.वि., झिमरुक–७
सुमन महतरा – सत्य मा.वि., झिमरुक–७
अन्जु एम.सी. – प्रभात मा.वि., झिमरुक–३ रहेका छन्।

उपाध्यक्ष पोखरेलले भने, “शिक्षा प्रतिको मेरो चिन्ता गहिरो छ। पढ्ने इच्छा र साहस भएका तर आर्थिक रूपले कमजोर विद्यार्थीहरूलाई सकेसम्म छात्रवृत्तिको व्यवस्था गरिदिन म जहिले पनि प्रयासरत हुन्छु।”
उनले यस्ता बालबालिकाहरूलाई “देशका कणधार” भन्दै, जसरी भए पनि पढाउने वातावरण बनाउने संकल्प दोहोर्याए।

पोखरेलले जनप्रतिनिधि नहुँदासमेत समाजसेवा, शिक्षा, स्वास्थ्य र विपद् व्यवस्थापनमा निरन्तर सक्रिय भूमिका खेलेको विभिन्न मिडिया र सामाजिक सञ्जालमा देख्न सकिने उल्लेख गरे।
सत्य मा.वि.का शिक्षक हेमन्त पोखरेलले सम्मानप्रति आभार प्रकट गर्दै भने, “सामुदायिक विद्यालयको गुणस्तर वृद्धि सबैको साझा जिम्मेवारी हो। राजनैतिक नेतृत्वदेखि अभिभावक, शिक्षक र समाजसेवीहरू मिलेर लागे मात्र उत्कृष्ट परिणाम सम्भव छ।”
सम्मानित विद्यार्थी अन्जु एम.सी.ले सम्मान पाएपछि हर्षित हुँदै भनिन्, “यो सम्मानले मलाई अझ राम्रो पढ्न हौसला दिएको छ। प्रमोद सरप्रति धन्यवाद व्यक्त गर्न चाहन्छु।”
पोखरेलद्वारा गरिएको यो सम्मान कार्यक्रम कमजोर आर्थिक अवस्था भएका तर मेहनती विद्यार्थीहरूका लागि प्रेरणा बनेको छ। शिक्षा क्षेत्रमा देखाइएको यो समर्थन भविष्यमा पनि दोहोरियोस् भन्ने अपेक्षा गरिएको छ।