प्यूठानकी रञ्जिता अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा भाग लिन थाइल्यान्ड प्रस्थान
साउन २३ ,प्यूठान
प्यूठान — प्यूठानकी प्रतिभाशाली तेक्वान्दो खेलाडी रञ्जिता भुसालले अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्दै थाइल्यान्डमा आयोजना हुने ८औं हिरोज इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिपमा भाग लिन प्रस्थान गरेकी छिन्।

आगामी २०८२ साल साउन २४ र २५ गते (अगस्ट ९ र १० तारिख) थाइल्यान्डमा हुने उक्त प्रतिष्ठित प्रतियोगितामा भाग लिन जाने अवसर पाउनु रञ्जिता मात्र नभई स्वर्गद्वारी नगरपालिका तथा सम्पूर्ण प्यूठानको गौरवको विषय हो।
सानै उमेरदेखि तेक्वान्दो खेलमा समर्पित रञ्जिताले जिल्ला, प्रदेश र केन्द्रीय स्तरका प्रतियोगितामा उत्कृष्ट सफलता हासिल गर्दै दर्जनौं मेडल र ट्रफी जितिसकेकी छिन्। उनको अथक मेहनत र लगनशीलताले गर्दा आज उनी अन्तर्राष्ट्रिय मंचमा नेपाललाई प्रतिनिधित्व गर्ने स्तरमा पुगेकी हुन्।
स्वर्गद्वारी नगरपालिकाबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन जाने पहिलो खेलाडीमध्ये एक रञ्जिताले नेपाली झण्डालाई अन्तर्राष्ट्रिय स्तरमा गर्वका साथ फराकिलो पार्ने विश्वास गरिएको छ।
उनको यो प्रस्थानले स्थानीय युवा–युवतीहरूमा खेलकुदप्रतिको उत्साह अझै बढाउने छ भने आगामी दिनमा अझ धेरै अन्तर्राष्ट्रिय खेलाडीहरू प्यूठानबाट उदाउने सम्भावना पनि प्रबल बनाएको छ।