देशकै नमुना र प्रभावकारी कार्य पुर्णखाेप घाेषणा गर्नु हाे: सर्मा
प्यूठान जिल्लालाई पुनः पूर्णखोप दिगोपना सुनिश्चित जिल्ला घोषणा गरिएको छ । बिहीबार आयोजित विशेष कार्यक्रममा जिल्लाभरका बालबालिका र गर्भवती महिलामा खोप पहुँच सुनिश्चित भएको घोषणा गरिएको हो ।

स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख नरेशबाबु श्रेष्ठका अनुसार चालु वर्षमा १५ महिनासम्मका ४ हजार ४३०, १६ देखि २३ महिनासम्मका ४ हजार ३४० तथा २४ देखि ५९ महिनासम्मका २१ हजार २०८ बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन् । यस्तै जिल्लाभर रहेका ३ हजार २५२ खोप क्लिनिकमार्फत ५ हजार २२४ गर्भवती महिलालाई पनि पूर्ण खोप सेवा प्रदान गरिएको जानकारी दिइयो ।
खोप अभियानलाई प्रभावकारी बनाउन योगदान पुर्याउने ९ वटै स्थानीय तहका उत्कृष्ट ९ जना स्वास्थ्यकर्मीलाई कार्यक्रममा सम्मान गरिएको थियो ।
जिल्ला खोप समन्वय समितिका प्रमुख धरम जिसीले प्यूठानलाई पहिलो पटक २०७२ पुस १५ गते पूर्णखोप जिल्ला घोषणा गरिएको स्मरण गराउँदै त्यसयता निरन्तर दिगोपना कायम राखिएको बताउनुभयो ।
नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रम तीनै तहका सरकारको सक्रिय समन्वयमा सञ्चालन भइरहेको उल्लेख गर्दै लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री तुल्सीराम शर्माले यसलाई देशकै नमुना र प्रभावकारी कार्यक्रमको रूपमा व्याख्या गर्नुभयो । प्रदेश सभा सदस्य नीमा गिरीले खोप कार्यक्रमको नियमित अनुगमन, निगरानी र सूचना प्रणाली अन्य विकास निर्माणका क्षेत्रमा पनि सिक्न योग्य अभ्यास भएको बताउनुभयो ।
कार्यक्रममा प्यूठान नगरपालिकाका प्रमुख बिष्णु योगी, प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईं लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालयका कौसल बैधले गर्नुभएको थियो ।