विश्व आत्महत्या रोकथाम दिवस स्वर्गद्वारी नगरपालिकामा एक कार्यक्रम गरी मनाईयो

भाद्र २४ , प्युठान । आज विश्व आत्महत्या रोकथाम दिवस स्वर्गद्वारी नगरपालिकामा पनि एक कार्यक्रम गरि मनाइएको छ । “ आशा जगाऔं , जीवन बचाऔं ” भन्ने मुल नाराका साथ भिंगृ प्राथमिक स्वास्थ्य केन्द्रको सभाहलमा स्वर्गद्वारी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा विश्व आत्महत्या रोकथाम दिवस २०२३ मनाइएको हो ।

कार्यक्रममा आत्महत्या सम्बन्धि विविध जानकारी तथा आत्महत्याको विगत र वर्तमान अवस्थाको बारेमा प्राथमिक स्वास्थ केन्द्र भिंगृका डाक्टर विनोद पौडेलले जानकारी गराउनु भएको थियोे । कार्यक्रममा डाक्टर पौडेलले मानिसले आत्महत्या कसरी गर्छ , यसले कुन कुन पक्षलाई प्रभाव पार्छ तथा जैविक , मनोवैज्ञानिक , सामाजिक , साँस्कृतिक , आर्थिक लगायतका कारणले व्यक्तिको मानसिकतालाई कसरी आत्महत्याको बाटो तर्फ लैजान्छ भन्ने कुरालाई स्पष्ट पार्नुभएको थियोे । यस्तै डिप्रेसन , सिजोफ्रेनियाको मनरोग , जाँडरक्सिको दुरुपयोग , द्वन्द , प्रकोप , हिंसा , एक्लोपन लगायतका कारणले आत्महत्याको जोखिम कसरी बढाउँछ र यसलाई रोक्न के गर्नुपर्छ भन्ने बारेमा पनि छलफल गरिएको हो । आत्महत्याको जोखिममा रहेका व्यक्तिको पहिचान गर्ने र उनिहरुलाइ सम्हाल्ने तरिकाको बारेमा पनि डाक्टर पौडेलले प्रष्ट पार्नुभएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि स्वर्गद्वारी नगरपालिकाका उप प्रमुख मिनराज रानामगरले जिल्ला संगै स्वर्गद्वारी नगरपालिकामा पनि आत्महत्याको दर बढ्दै चुनौतिको रुपमा देखिएको अवस्थामा यसलाई रोकथाम गर्न आजैबाट लाग्नु पर्ने बताउनुभयो । आफ्नै वडामा केही समय अगाडि १२ बर्षिय बालिकाले आत्महत्या गरेको उदाहरण दिदै उप प्रमुख मिनराज रानाले सामाजिक सञ्जालको दुरुपयोग पनि आत्महत्याको एक प्रमुख कारण भएको बताउनु भयो । साथै आत्महत्याको प्रमुख कारणहरुको पहिचान गरि गाउँगाउँमा अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने र सबैले आफ्नो तर्फबाट आफ्नो समुदायमा यस्ता घटना हुन नदिन सहयोग गर्न समेत उहाँले आग्रह गर्नुभयो ।

 

विश्व आत्महत्या रोकथाम दिवसमा आयोजित आजको कार्यक्रममा स्वागत मन्तव्य राख्दै स्वर्गद्वारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दल बहादुर केसीले कार्यक्रमको उदेश्यको बारेमा पनि जानकारी गराउनु भएको हो । यस्तै उहाँले निराशाले निम्त्याउने मानसिक रोगका कारण मानिसले आत्महत्या गर्ने गरेको र निराशालाई आशामा परिणत गरि जीवन बचाउन सकिने बताउनुभयो ।

 

स्वर्गद्वारी नगरपालिका वडा नं ४ का वडा अध्यक्ष सुवर्ण कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वर्गद्वारी नगरपालिकाका नगर उप प्रमुख मिनराज राना मगरको प्रमुख आतिथ्यता तथा महिला स्वास्थ्य स्वयंसेविका , स्वास्थ्यकर्मी , स्वर्गद्वारी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख तथा कर्मचारी , स्वास्थ्य केन्द्रमा उपचाररत विरामी , स्थानीय लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।