अलबिदा सुर्य ।

कबिता

अलबिदा सुर्य

 

आज यो अध्यारो पृथ्वी
रत्ती हेर्न मन छैन
अझ सुर्य बिनाको रित्तो आकाश
खै त्यो त झनै हेर्न मनै छैन

म कल्पना पनि गर्न सक्दैन
सुर्य बिनाको आकाश हुन्छ भनेर
म आस पनि गर्दिन
सुर्य बिना पृथ्वी
चल्छ भनेर
चाँदनी बिनाको रोशनी
उ बिनाको संसार
खोइ कस्तो कस्तो

हुनत कसैको जिन्दगी
पलास बनेर आउदैन
अजम्बरी संसार
कसैको हुदैन
सृष्टि, रचना, लेखा, भावी
जे भनेनी यस्तै यस्तै
नमिठो, नमिल्दो र नरमाइलो हुदो रहेछ

सुर्यको जीवनसङ
प्रकृतिको अनौठो साइनो छ
अनेक जीव सङको प्रगाढ सम्बन्ध छ
उसको आफ्नो भबिस्य के थियो खै?
तर उसका गर्भ भित्र
अनेकौंका अनेक अनेक सपना थिए
कसैका चाहाना थिए
कसैका जिन्दगी थिए

धेरैलाई लाग्थ्यो
उ केही हो
उस भित्र केही छ
कसैकसैले भन्थे
उ इतिहास हो
उ भित्र इतिहास छ
मलाई पनि लाग्थ्यो
उ जिन्दगी हो
उ भित्र जीवन छ

खै यो के भयो?
आफ्नै जिन्दगी पनि भोग्न नपाई
सुर्य कता बिलायो?
आकाश भित्र
बादल भित्र
या जुन भित्र
खोइ कता लुक्यो लुक्यो!

त्यसो त सुर्य जताततै छ
हरेकको मन भित्र छ
दुखी र दुखी जिन्दगीहरु सङ
अभाव र अभावका जीवनहरु सङै
हरेकको मन र मस्तिष्कमा
तन र तनमा छ
सबैको
हामी सबैको

एकपटक कालको मुखबाट
उ भागेर आएथ्यो
लुख्रुक्क परेको
च्याखुरे ज्यानले
खलंगाको पार्टी चोकमा
एउटा भाषण दिएथ्यो
साच्चै उसको आँखामा
अनौठो देश देखिन्थ्यो
उसको चम्किलो अनुहारमा
सुन्दर देश देखिन्थ्यो
उ कल्पना गर्दै थियो
एउटा सुन्दर राज्यको
र भन्दै थियो
देश अखण्ड र स्वाधीन रहनुपर्छ
सिङो नेपाल रहनुपर्छ
त्यसैले उ देश हो
देश अमर छ
र सुर्य अजर छ
प्यारो सुर्य
यतै कतै
वरिपरि छ

जे होस
यो नमिठो प्रहरमा
म उसका मिठा बिचारहरुलाई
स्मरण गरिरहेछु
यो दुखद पलमा
म उसका मिठा सपनाहरुलाई
स्मरण गरिरहेछु
म उसका ती रंगिन
देश प्रेम र जनता प्रतिका
कैयन आदर्श बिचारहरुलाई
सम्झिरहेछु
ती सबै सबै सुर्यका सौर्य भावहरु प्रती
मेरो अन्तिम स्यालिउड
अलविदा सुर्य ।

सुवाश संयम
दारिमचौर प्युठान ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।